महामारी न्यायसम्बन्धी छुट्टै विधिशास्त्र आवश्यक : प्रधानन्यायाधीश
काठमाडौं, वैशाख २५ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘महामारी न्याय’सम्बन्धी छुट्टै विधिशास्त्रको आवश्यकता रहेको बताएछन्।

काठमाडौं, वैशाख २५ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘महामारी न्याय’सम्बन्धी छुट्टै विधिशास्त्रको आवश्यकता रहेको बताएछन्।
उनले कानुन दिवसको अवसरमा शुभकामना सन्देसमार्फत सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीसम्बन्धी छुट्टै विधि शास्त्रको विकासको आवश्यकता रहेको अनुभूति गराएको बताएका छन्।
प्रधानन्यायाधीश जबराले कोरोना भाइरस महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन्। उनले भने, ‘नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले संरचनासहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका छन्।’
उनले कोरोनाका कारण न्याय प्राप्तिमा पुगेको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न पनि आग्रह गरेका छन्।
‘न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ,’ प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ। त्यसप्रति प्रतिवद्ध रहँदै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्यायपद्धतिको स्थापना र विकास गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वाससमेत मैले लिएको छु।’
उनले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने औषधि पत्ता नलागेको अवस्थामा दूरी कायम गर्नुका साथै रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको पनि उल्लेख गरेका छन्।
नेपाल प्रधानन्यायालय ऐन, २००८ वि.सं. २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानून दिवसको रूपमा मनाइँदै आएको छ।











