राणा र मिश्रलाई प्रहरीमा उपस्थित नगराएपछि तीनजना वकीललाई जरिवानाको कारबाही
प्रहरीले राणा र मिश्रको जमानी बसेका अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्टलाई जरिवाना तोकेको हो। काठमाडौँ परिसरले तिनैजनालाई जरिवाना गरेको छ ।
काठमाडौं, जेठ २२ : तीनकुने घटना प्रकरणमा अनुसन्धानका क्रममा हाजिर जमानीमा छाडिएका राप्रपाका नेताहरु धवल शमशेर राणा र रवीन्द्र मिश्रलाई उपस्थित नगराएको भन्दै तीनजना कानुनव्यवसायीलाई २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
काठमाडौं प्रहरी परिसरले राणा र मिश्रको जमानी बसेका अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्टलाई जरिवाना तोकेको हो।
प्रहरीले खोजेको बखत उपस्थित हुने शर्तमा मिश्र र राणालाई छाडिए पनि प्रहरीले बोलाउँदा र पत्राचार गर्दा समेत उपस्थित नभएपछि कानुनव्यवसायीलाई जरिवानाको कारबाही गरिएको हो।
राणा र मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौँमा राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराध समेतको कसूरमा अनुसन्धानकोक्रममा राणा उपचारको लागि भारत जानु पर्ने भएका कारण रिहा गरिएको थियो भने मिश्रलाई सर्वोच्च अदालतको आदेश अनुरुप जमानीमा छाडिएको थियो।
राणालाई औषधि उपचार गर्ने प्रयोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट सहमति लिएर अधिवक्ता विष्टको जमानीमा छाडिएको हो।
मिश्रलाई सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटको आदेशअनुसार खोजी भएका बखत उपस्थित गराउने गरी अधिवक्ता श्यामबहादुर शाही र अधिवक्ता बसन्त ब्लोनको जिम्मामा छाडिएको थियो।
जमानीमा बसेका कानुनव्यवसायीलाई प्रहरीले पटक पटक फोन तथा पत्र मार्फत जानकारी गराउँदा पनि उपस्थित नगराएको भन्दै जनही २५ हजारका दरले जरिबाना तोकिएको जनाइएको छ।