‘वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यक छ’
अध्यक्ष दाहाल आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु रहेको धारणा राखे।-1702739157.jpg)
काठमाडौं, जेठ २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक रुपमा देखिएको बताएका छन्।
बिहीबार विश्व वातावरण दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै उनले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको बताए।
‘नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषि प्रधान तथा तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको संवेदनशील भू–भागमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक देखिएको छ। सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको छ,’ उनले भने, ‘प्लास्टिक प्रदूषण आजको प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम हो, जसले वातावरणीय सन्तुलनमा मात्र होइन, जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीहरूमा समेत दीर्घकालीन असर पु¥याइरहेको छ। त्यसैले यस विषयमा सबै गम्भीर बन्न जरुरी रहेको छ।’
अध्यक्ष दाहाल आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु रहेको धारणा राखे। आज निर्णायक कदम चाल्न नसके भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने उनको भनाई छ।
‘आजको आवश्यकता भनेको वातावरण संरक्षण र जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा खबरदारी र सक्रियता जनाउनु हो,’ उनले भने, ‘हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्नेछ।’
प्लास्टिक प्रयोग कम गर्न, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन, साथै वातावरणमैत्री जीवनशैली विकास गर्न तथा वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा दाहालले आग्रह गरे।