सदन अवरोध खोल्न माओवादी सकारात्मक, विपक्षी दलसँग छलफल गर्दै
संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
काठमाडौं, जेठ २२ : नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ।
बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ, मुख्य चाँही छानविन हो। व्यक्ति विशेषमा हाम्रो ध्यान छैन, तर मुख्य कुरा छानबिनकै हो भन्ने छ,’ प्रवक्ता सापकोटाले भने, ‘अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो। सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँगग कुराकानी गर्नुपर्ने छ। आज कुराकानी हुन्छ। यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष निकालेको छ।’
माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ।