लेखक प्रदीप भारद्वाज भन्छन्– नयाँ विषय खोज्दै थिएँ, ‘जन्ते बाख्रो’को आइडिया आयो
पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ मा अपग्रेड भएका कारण पनि नयाँ पुस्तालाई संस्कृतिको विषयमा समेत सिनेमाले जानकारी दिने उनी बताउँछन्।
काठमाडौं, जेठ १७ : सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शनको तयारीमा छ। सौगात मल्ल, आसिफ साह र गरिमा पन्त स्टारर फिल्म जेठ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ।
फिल्मले हाम्रै सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उठान गरेको छ । ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको जन्ते बाख्रो खुवाउने परम्परालाई आधार बनाएर सिनेमा तयार गरिएको फिल्मको कथा र पटकथा अहिलेको चर्चित लेखक प्रदीप भारद्वाजले लेखेका छन्।
नेपाली चलचित्र उद्योगलाई थुप्रै उत्कृष्ट फिल्म दिइसकेका भारद्वाज ‘जन्ते बाख्रो’को आइडिया नयाँ विषय खोज्ने क्रममा आएको बताउँछन्।
‘नयाँ विषय खोज्ने क्रममै आएको आइडिया हो, ‘जन्ते बाख्रो’ । यो दुई प्रकारको हुन्छ, एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्राएपछि हुने भतेरमा खाइन्छ,’ उनी भन्छन्, ‘सिनेमाको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको छ।’
पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ मा अपग्रेड भएका कारण पनि नयाँ पुस्तालाई संस्कृतिको विषयमा समेत सिनेमाले जानकारी दिने उनी बताउँछन्।
‘विवाहमा जन्ती गएका पाहुनालाई बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कार अहिलेको सहरिया नयाँ पुस्तालाई हाम्रो संस्कृति थाहा नहुन सक्छ किनकि आधुनिकीकरणले हाम्रो परम्परा र संस्कृतिलाई नयाँ स्वरूप दिईसेको छ,’ फिल्मको कथा बारे उनी भन्छन्, ‘त्यसकारण हामी सिनेकर्मीले हाम्रो संस्कृतिका विषयमा जानकारी दिनु पनि आवश्यक छ। तर, यो पूर्ण मनोरञ्जनात्मक सिनेमा हो।’
फिल्मको सार्वजनिक प्रचारप्रसार सामग्रीमा देखिएको ‘बोका’ को पनि महत्वपूर्ण भूमिका सिनेमामा रहेको उनले बताए। ‘सिनेमाको पहिलो दृश्यदेखि नै बोकाको प्रसङ्ग जोडिएको छ, सोही कारण हामीले यसलाई प्रचारप्रसारमा अगाडि ल्याएका हौँ,’ उनी भन्छन्।
लेखक भारद्वाजका अनुसार नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई तयार भएको ‘जन्ते बाख्रो’ रमाइलो कमेडी सिनेमा हो।
सन्तोष गौतमले निर्माण गरे गरेको फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशीलाई पनि देख्न सकिन्छ।
फिल्मा सार्वजनिक गरिएका गीतहरू मुकु मुकु म्या, घामै राजा र अङ्गुरको झुप्पोलाई दर्शकले रुचाइसकेका छन्।
