सवारी अनुमतीपत्रमा कैफियतपछि यातायातका चार कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले पराजुलीसहित सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले एउटा व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रको विवरण सोही आइडी र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका सभ्यता केसीको नामको विवरण ईडीएलभीआरएस प्रणालीमा परिवर्तन गरी अद्यावधिक गरिएको आरोपमा मुद्दा दर्ता गरेको हो।
छानविनकाक्रममा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट मिति २०७८ चैत ७ गते चारजना कर्मचारीको मिलेमतोमा सवारी चालक अनुमतिपत्र अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु केसीको सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरेको भेटिएको अख्तियारले जनाएको छ।
रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बस्ने केसीले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रियामा भाग नलिइ अर्कै व्यक्तिको परिचयपत्र बदनियतका साथ दुरुपयोग गरेको आयोगले जनाएको छ। चारैजना कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ।