कांग्रेस नेता खड्काको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा बिहान निधन भएको हो। कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका ८२ वर्षीय खड्का क्यान्सर रोगबाट पीडित थिए।
काठमाडौं, जेठ १५ : पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको बिहीबार निधन भएको छ।
दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा बिहान निधन भएको हो। कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका ८२ वर्षीय खड्का क्यान्सर रोगबाट पीडित थिए।
खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला सभापति थिए। खड्का २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए भने २०६४ मा संविधान सभा सदस्य पदमा निर्वाचित भएका थिए।
२०५२ सालमा भौतिक योजना, निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ स्थानीय विकास राज्यमन्त्री बनेका थिए। लोकतन्त्र प्राप्तीको संघर्षमा खड्काले पटक–पटक जेल जीवन, प्रहरी हिरासत र यातना भोगेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्। देउवाले एक शोक वक्तव्यमार्फत निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
‘नेपाली कांग्रेस दैलेखका पूर्वसभापति एवं पूर्वराज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गणेशबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ’, देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ।