Kathmandu Press

सिद्धहस्त न्यायकर्मी श्रेष्ठको गिती यात्रा–‘जिन्दगी जति हिँड्यो उति टाढा’ भित्र विचरण गर्दा 

कृति ‘जिन्दगी जति हिँड्यो उति टाढा’ मा जिवन, प्रेम, माया, दुःख, पिडा, खुशी, समय, सम्बन्ध, देशप्रेम, राष्ट्रियता सबै चिजहरु पोखिएका छन्।
सिद्धहस्त न्यायकर्मी श्रेष्ठको गिती यात्रा–‘जिन्दगी जति हिँड्यो उति टाढा’ भित्र विचरण गर्दा 

नेपालको न्यायप्रणालीको क्षेत्रमा विशिष्ट पहिचान बनाएका कल्याण श्रेष्ठले आफूलाई गीतकारको रूपमा भिन्नै परिचय दिँदै नयाँ गिती संग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ कोशेली लिएर नेपाली पाठक–स्रोता माझ आएका छन्। 

गिती संग्रहभित्र ८७ वटा गीत रहेका छन्। दुई सय मूल्य रहेको यो पुस्तक शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। प्रधानन्यायाधीशबाट सेवानिवृत्त भएपछि श्रेष्ठले न्याय क्षेत्रको विशिष्ट परिचयमाथि गीत तथा कवितामार्फत् लेखकको अर्को नयाँ परिचय थपेका छन्। पछिल्लो कृति ‘जिन्दगी जति हिँड्यो उति टाढा’ मा जिवन, प्रेम, माया, दुःख, पिडा, खुशी, समय, सम्बन्ध, देशप्रेम, राष्ट्रियता सबै चिजहरु पोखिएका छन्। संग्रह पढ्दै जाँदा जीवनका बहु पाटाहरु फेला पर्दछन्। जीवन सरल र सिधा मात्र छैन है, चेप्टो र बाङ्गोटिङगो पनि छ है भन्ने सन्देश भेटिन्छ। 

श्रेष्ठले गितकार शक्तिबल्लभ र चुडामणि देवकोटाको संगतले गर्दा आफुलाई गीत लेखनतर्फ तानेको बताएका छन्। श्रेष्ठलाई लेख्न उक्साउने र उनीभित्र भएको भावना प्रस्फुटन गर्न लगाउने उनीहरु नै हुन्। श्रेष्ठ स्वयम्ले साथीहरुको हुटहुटीले लेख्न सकेको भनेका छन्। संग्रहभित्र राष्ट्रियताका भावना पनि झल्किएका छन्। गीतको एउटा फाँको हेरौं ः 

Hardik ivf

नेपालका हौ नेपाली हौ
यही चिनारी काफी छ
आकाश छुने नेपालको शिर छ
उसकोउचाई के सोध्छौ 
पहाड जस्तो छातीभित्र 
उसको साहस के जौख्छौ।
(नेपालका हौ ) 

श्रेष्ठका गीतमा जीवनदर्शनका अभिव्यक्तिको आस्वादन ठाउँठाउँमा गर्न पाइन्छ। गीतमा शब्द र भावको गाम्भीर्यता गहिरो छ। कवि एवम् समालोचक डा.गीता त्रिपाठीले भनेकी छिन्, ‘जिन्दगी जति हिँड्यो उति टाढा’ का गीतहरुको मुख्य सार मानिसलाई मुक्तिबोधसहित प्रकृतिको नजिक पुर्याउनुरहेको छ, जीवनमा जीवितरहनु र जीवन बाँच्नुबिचको अन्तर्यलाई यी गीतहरुले गहिरो गरी सम्बोधन गरेका छन्। सम्बन्धहरु भित्रका संशयहरुले जकडिएका निर्मम पक्षहरुलाई आोचनात्मक दृष्टिबाट प्रकट गरिएकाले गीतकार श्रेष्ठ समकालीन गीतमा युगीन जीवनचेतनाका संवाहक हुनुहुन्छ।’ 

डा.त्रिपाठीले भने झैं जीवन बाँच्नुबिचको अन्तर्य र सम्बन्धहरुबारे गीतले एक ठाउँमा यसरी क्षेडखानी गरेको छ : 

म मरेको खबर तिमीसम्म नपुगोस्
सुषुप्त यादहरुले व्यर्थै सताउन सक्छ
अलिकता छन् केही थुङ्गा फूल नचढाउनू मलाई
त्यसमा सम्बन्ध विसर्जनको क्रुरता देखिन सक्छ
(म मरेको खबर) 

यता, कुनै गीतमा प्रेमिल भावनाका स्वर पनि उठेका छन्। यान्त्रिक जीवनको निरासाजन्य भोगाइ र अनुभूतिका साथै अनेकन दुखेसा पनि नभएका होइनन्। कतै आफ्नै भोगाइका तितो यथार्थ पो हुन् कि जस्तो अनुभूती पनि दिलाउँछ। वास्तवमा गीतहरुमा सुरुदेखि नै विविध भाव र लयको अनुगुञ्जनले भरिपूर्ण देखिन्छन्। संरचना, विषय र शैली सरल र सहज लाग्छन्। भद्दा पाश्चात्य शैलीबाट बच्दै जोगिँदै स्थानीय शैलीतिरको आकर्षण चाहिँ हो कि जस्तो लाग्छ। 

गीतमा राष्ट्रभक्ति मात्र नभै, आशा र निराशाका शब्दहरु पनि भेटिन्छन्। आखिर प्रेम, आशा, निराशा, भरोसा र उतारचढाव जीवनका पदचाप नै त हुन्। देउरालीदेखि हिमालसम्म, जीवनदेखि यौवनसम्म, प्रेमदेखि विछोडसम्म सबै भावले ओतप्रोत छ संग्रह। कतै गीतका सर्जक फुल भन्दा नरम शब्दमा भेटिन्छन्, कतै विद्रोही स्वरमा पथ्थर भन्दा कडा देखिन्छन्। साथमा राष्ट्र र राष्ट्रियताप्रतिको अटल भाव पनि त छचल्किएको पाइन्छ। यसो त, राष्ट्रप्रेमभित्रै कतिपय गितमा आक्रामक भाव पनि भेटिन्छ। 

गीतकार श्रेष्ठ लेख्छन् :

हिमाल हेरेर स्वाभिमान जाग्दैन भने
हिउँ हेरेर मन चोखो बन्दैन भने
तलाईँ नेपाली भन्नु बेकार छ
(हिमाल हेरेर) 

वास्तवमा जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मच्चाइरहेको परिस्थितीमा श्रेष्ठको नयाँ कोशेली बजारमा आएको छ। यो मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना हुनसक्छ। गीत मूलतः साङ्गीतिक प्रस्फुटन भएका कारण यसको प्रस्तुतिगत शिल्पले पनि श्रोतालाई समात्दछ। गीतमा नयाँ शैलीबाट अघि बढेको अनुभव मिल्दछ। र, सर्सर्ती हेर्दै जाँदा सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुन्छ।

परम्परा भन्दा फरक धारमा गीत लेखेर अलग परिचय बनाउने यत्न गरिएको छ। न्यायलयमा पाएको विशिष्ट सफलता जस्तै गीति लेखनमा पनि सिद्धहस्त शव्द शिल्पी भेटिन्छन्। गीती संग्रह पिता कुलबहादुर श्रेष्ठ र माता श्रीलक्ष्मीदेवी श्रेष्ठप्रति समर्पित गरिएको छ। दुई सय रुपैयाँ रहेको संग्रहले सबैको मन जित्ने विश्वास लिन सकिन्छ।

गीतकार एवम् साहित्यकार चूडामणी देवकोटाले श्रेष्ठबारे भनेका छन्, ‘उहाँको अद्विप्तिय लेखन शैलीले नेपाली गीति लेखनको प्रवाहलाई नयाँ दिशातर्फ मोड्न सक्ने अपूर्व क्षमता बोकेको छ। नेपाली सुगम संगीतमा उहाँले पुर्याउनुभएको योगदानले आगामी पुस्ताका लागि नविनखयुगको आधारशिला स्थापित गर्ने अपेक्षा गर्न सकिन्छ।’  

सारमा, गीती संग्रह सबैको साझा सम्पत्तिका रुपमा बजारमा आएको छ। आशा गरौं, जसप्रति उचित माया र न्यायोचित आँखा पर्ने छ। अन्त्यमा श्रेष्ठकै शब्दमा : 

यादहरुमा बहुलाएको बेला 
मायाले सताउँछ मलाई 
बितेका प्यारा क्षणहरु भुलिने भयले अत्याउँछ मलाई 
म के गरुँ ? 
(यादहरुमा बहुलाएको बेला) 

प्रकाशित मिति: २१:१६ बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्