हात्तीवन बैठकको प्रभाव : नेकपामा फेरि ब्यूँतियो ‘एक व्यक्ति, एक पद’
काठमाडौं, वैशाख २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुव....
काठमाडौं, वैशाख २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुवैले आत्माआलोचना गरेर आन्तरिक विवाद अन्त्य भएको दाबी गरिएपनि स्थायी कमिटी बैठकको मुखमा फेरि विवाद देखिन थालेको छ।
गत सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा भएको एउटा गोप्य भेलापछि प्रधानमन्त्री ओली आफ्नो पूर्वसहमतिबाट पछि हट्ने संकेत गरेका छन्।
मंगलबार एजेण्डाबारे सल्लाह गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले हात्तीवन बैठकप्रति गम्भीर असहमति प्रकट गरेका छन्। स्रोतका अनुसार ओलीले ठट्याैली पारामा ‘पार्टीको तौरतरिका हेर्दा लामो समय जाने देखिएन। बरु सल्लाहले अलग हुने हो कि क्या हो’ भनेका थिए।
प्रचण्डले भने मिडियामा आएका कुरामा विश्वास नगर्न ओलीलाई आग्रह गरेका थिए।
‘प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाएर अलग हुन खोजेका नै थिए। असम्भव भएपछि एकाएक फिर्ता लिनुभएको हो,’ नेकपाका स्थायी कमिटी सदस्य हरिवोल गजुरेलले काठमाडौं प्रेससँग भने, ‘उहाँले पार्टी अलग गर्न त पहिल्यैदेखि खोजिरहनु भएको थियो। प्रचण्डसँग पार्टी अलग गरौँ भनेको कुरा कुनै नौलो नै होइन नि!’
उनले भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकमा सरकारको समीक्षा र कोरोनाबारे छलफल हुने बताए।
यता नेकपा सचिवालय सदस्य झलनाथ खनालले स्थायी कमिटीको बैठकका एजेन्डा टुंगिन नसकेको बताए। उनले पार्टी एकतालाई सुदृढ बनाउन, सरकारको समीक्षाा गर्ने लगायतका विषयमा छलफल भएपनि प्रस्ताव टुंगिनसकेको बताए।
नेकपाको भोलि बस्ने भनिएको स्थायी कमिटी बैठकको एजेण्डा अझै तय भएको छैन। दुवै पक्षले एकले अर्कोलाई आशंका गरेका कारण यसअघिको सचिवालय बैठकको सहमति अहिले तोडिएको अवस्थामा पुगेको छ।