सिर्जनशील प्रतिष्ठानमा ‘क्वान्टम भौतिकी’ माथि विमर्श
डा.खड्कबहादुर क्षत्रीले शास्त्रीय विज्ञानले अणु र तरङ्गलाई भिन्नभिन्न रूपमा हेरेको भए पनि क्वान्टम भौतिकीले एकअर्कासँग अन्तरसम्बन्धित गराएकोमा जोड दिए।
कास्की, जेठ ११ : सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा कन्या क्याम्पस नदीपुरको सभाहलमा सम्पन्न कार्यक्रममा ‘क्वान्टम भौतिकी’ विषयक विचार विमर्श भएको छ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस भौतिकशास्त्र विभागका विभागीय प्रमुख डा.खड्कबहादुर क्षत्रीले विचारपत्र प्रस्तुत गर्दै अहिलेको दुनिया क्वान्टम मेकानिक्सबाट परिचालित भएको बताए। प्रस्तोताले शास्त्रीय विज्ञानले अणु र तरङ्गलाई भिन्नभिन्न रूपमा हेरेको भए पनि क्वान्टम भौतिकीले एकअर्कासँग अन्तरसम्बन्धित गराएकोमा जोड दिए।
गति स्थिर हुँदा तरङ्ग पनि अणु वा पदार्थ बन्ने र गतिमा हुँदा अणु पनि तरङ्ग बन्ने उनको दाबी थियो। खासमा क्वान्टम भौतिकीले सम्भाव्यताको खोजी गर्छ भन्दै प्रस्तोताले इन्द्रिय अनुभवभन्दा पर पनि सत्य लुकेको हुन सक्ने कुरा उनले औँल्या।
क्वान्टम भौतिकी भनेकै द्वैधताको खेल भएको उनको तर्क थियो। इन्ट्याङ्गलमेन्ट भनेको दुई वा दुईभन्दा बढी व्यक्ति वा वस्तुबिचको अन्तरसम्बन्ध हो। यो अन्तरसम्बन्ध स्थापित हुनका लागि समय र भूगोल बाधक बन्न सक्दैन भन्ने उनको भनाइ थियो।
प्रस्तोताको विचारपत्रमाथि टिप्पणी राख्दै पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा.शोभाकान्त लामिछानेले सामाजिक सन्दर्भ र घटनासँग जोडेर क्वान्टम भौतिकीलाई थप स्पष्ट पारे । सन् १९०१ मा जर्मनी वैज्ञानिक म्याक्स प्लाङ्कले सर्वप्रथम ‘क्वान्टा’ को प्रयोग गरेको उनको दाबी थियो । उनका अनुसार जगतमा भएका सबै कुरा इलेक्ट्रोनको खेल हो।
इलेक्ट्रोनले कहिले अणु र कहिले तरङ्गको चरित्र देखाउँछ । ‘क्वान्टम’ अनिश्चितता वा सम्भाव्यताको सिद्धान्त हो । यो जगतमा असम्भव र निश्चित भन्ने केही छैन भन्दै उनले अध्यात्म र विज्ञानको खोज करिव एकै ठाउँमा आइपुगेको डा.लामिछानेले बताए।
कार्यक्रममा सहभागीको तर्फबाट प्रा.डा.शालिग्राम सुवेदी, प्रा.डा. जगन्नाथ रेग्मी, डा. योगराज पौडेल, डा.ईश्वरमणि अधिकारी, डा.नवराज न्यौपाने, डा.भूमिराज बस्ताकोटी, सूर्यभक्त सिग्देल, बद्री पङ्गेनी, वसन्त पराजुली, कृष्णप्रसाद बास्तोला, रमा पौडेल र प्राञ्जल पौडेलले जिज्ञासा राखेका थिए।
साथै कार्यक्रममा स्कुले बाबु एड्विन भट्टराईले कविता वाचन गरे । कार्यसमिति सदस्य पुण्यप्रसाद भट्टराईका सुपुत्र विजय भट्टराईले बुबाआमाका नाममा पुण्यसीता सिर्जनशील पुरस्कारका लागि संस्थामा डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए।
संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष डा. श्रीधर न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष टेकनाथ पौडेलले राखेका थिए।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाज, कास्कीको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष शिशुकला पराजुलीको टिमलाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्य एवं जिज्ञासु महानुभावहरूको बाक्लो उपस्थिति थियो।
-(56)-1764919423.jpg)











