राज्यले कर्णालीलाई अन्याय मात्र होइन अपराध नै गरिरहेको छ : ज्ञानेन्द्र शाही
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरु मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखे।
काठमाडौं, जेठ ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध नै गरेको दाबी गरेका छन्। यदी सरकारले कर्णालीलाई अलग बनाउछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी उनको थियो।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरु मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखे। उनले सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो कि भन्दै प्रश्न पनि गरे।
‘हुम्ला जिल्लामा हिमपहिरो गएको छ । तर अहिलेसम्म सरकारले उद्धार गरेको छैन। त्यसैले भन्न चाहन्छु– सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो?,’ उनले भने, ‘मन्त्रीहरुको सवारी हुँदा हेलिकप्टर घुमीरहेका छन् ।तर हुम्लामा हिमपहिरो गएर, हिमताल फुटेर जनताहरु रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेको छैन। सरकारले के कर्णालीलाई हेपेको हो?’
यदी सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैं चलाएर देखाउने चेतावनी दिए। उनले जनता हिमपहिलो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटकबाजी गरिरहेको पनि बताए।
‘एउटा सामान्य राज्यमन्त्री जाँदा हेलिकप्टर चढेर जानुहुन्छ तर त्यहाँको जनता हिमपहिलो गएर अलपत्र परेका छन्। कसैलाई वास्ता छैन। यस विषयमा सभामुखले रुलिङ गर्नुपर्छ, कर्णालीका जनता पनि जनता हुन्,’ सांसद शाहीले भने।