Kathmandu Press

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा प्रमुख दलका भ्रातृ संगठन एक ठाउँमा

नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेकपा एमालेको राष्ट्रिय अपाङ्गता संगठन नेपाल र नेकपा माओवादी केन्द्रको अपाङ्गता संगठन नेपालले साझा धारणा ल्याएका हुन्।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा प्रमुख दलका भ्रातृ संगठन एक ठाउँमा

काठमाडौं, जेठ ४ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै समान अवसरको प्रबर्धन गर्ने उद्देश्यले नेपालका प्रमुख तीन दलका भ्रातृ संगठनले साझा धारणा सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेकपा एमालेको राष्ट्रिय अपाङ्गता संगठन नेपाल र नेकपा माओवादी केन्द्रको अपाङ्गता संगठन नेपालले साझा धारणा ल्याएका हुन्।

Hardik ivf

तीन दलका भ्रातृ संगठनबीच घनिभूत छलफल भई अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि साझा धारणा बनाइएको हो। आइतबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, राष्ट्रिय अपाङ्गता संगठन नेपालका अध्यक्ष जगदीशप्रसाद अधिकारी र अपाङ्गता संगठन नेपालका अध्यक्ष टिकाराम पराजुलीले साझा धारणामा हस्ताक्षर गरे।

नेपाल अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र भएको सन्दर्भ समेट्दै तीन संगठनले सरकारले व्यक्तिगत सहयोगी सेवाका लागि गरेको सम्झौतालाई यथाशिघ्र कार्यान्वयन गरी सम्बोधन गर्न पाँच सवालहरू लागू गर्न अनुरोधसमेत गरेका छन्।

ती सवालहरुमा अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारी लगायत विभिन्न बहानामा परिवारबाट अलग हुनुपरेको वर्तमान अवस्था बदल्न तत्काल आफ्नै समुदायमा सम्मानित जीवनयापन गर्ने वातावरण निर्माण गर्ने कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनु पर्ने, पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताको आधारमा व्यक्तिगत सहयोगी सेवा आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक बजेट (संघ, प्रदेश र स्थानीय तह) मा समावेश गरी तुरुन्त लागू गर्नुपर्ने रहेका छन्।

त्यस्तै सबै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार सहायक सामग्रीहरू सरकारी संयन्त्रमार्फत सहज र निःशुल्क उपलब्ध गराउने अनिवार्य व्यवस्था गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको सेवा सुविधा स्थानीय तहमार्फत प्रदान गर्न नियमावलीको दफा ९ अनुसारको ‘सामुदायिक सहायता सेवा’ सम्बन्धी कार्यविधि बनाई आर्थिक वर्ष २०८२।८३ देखि शुरु गरिनुपर्ने र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणका लागि अधिकार सम्पन्न संयन्त्रको स्थापना गरिनुपर्ने रहेका छन्।  

 

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्