आधारहीन सामग्री सम्प्रेषण हुन नदिन पत्रकार नै सजग हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालमा आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार न....

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालमा आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार नै सजग हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गरेका छन्। उनले पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गरेका छन्। “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ,” सन्देशमा भनिएको छ।
त्यस्तै, उनले आधारहीन सामग्री सम्प्रेषण हुन नदिन पनि पत्रकारले सजग हुनुपर्ने बताएका छन्। “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ,” ओलीले भनेका छन्।
नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारले काम अगाडि बढाइरहेको दाबी गर्दै उनले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाएका छन्।
प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि प्रधानमन्त्री ओलीको विश्वास छ।
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
सरकारको निर्णयसँगै पाँच वर्षअघिदेखि आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ।
यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले शुभकामना दिँदै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको विश्वास जनाएका छन्।
लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनले सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भइ भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले महत्वपूर्ण योगदान पु¥याउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।











