Kathmandu Press

७ पत्रकारलाई रोटरी जर्नो अवार्ड, ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ कोइरालालाई 

रोटरी जर्नो अवार्ड कार्यक्रमका अध्यक्ष नम्रता शर्माले पुरस्कारका लागि ५० वटाभन्दा बढी आवेदन परेका उल्लेख गर्दै ती आवेदनमध्येबाट सात विधामा सात जनालाई चयन गरिएको जानकारी गराईन् । 
७ पत्रकारलाई रोटरी जर्नो अवार्ड, ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ कोइरालालाई 

ललितपुर, जेठ ४ :  रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भूटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४-२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख एक हजार राशिको रोटरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।

नेपालमा लामो समयसम्म पत्रकारिता तथा सञ्चारको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार अघिल्लो वर्ष स्व. भैरव रिसाललाई प्रदान गरिएको थियोे । नेपालको पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने अग्रज पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यले सुरेश आचार्य र प्रभात योञ्जनले पुरस्कारका लागि योगदान गरेका थिए । 

यस्तै रु ५१ हजार राशिको जर्नो अवार्ड २०२४-२५ बाट खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गरेका सागर परियार, मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गरेकी उन्नति चौधरी, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील तीन दशकदेखि पत्रकारितामा सक्रिय कान्तिपुर दैनिकका पत्रकार नारायण किलम्बु, २०६० सालदेखि सुदूरपश्चिमबाट पत्रकारितामा क्रियाशील कारोबार दैनिकका समाचारदाता पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल भूटानका डिस्ट्रिक गभर्नर राजेन्द्रमान श्रेष्ठले रोटरीका बारेमा सर्वसाधारणमा सकारात्मक प्रभाव विकास होस् भन्ने अभिप्रायले पुरस्कारको सुरुआत गरिएको बताए । उनले फेब्रुअरीमा हुने डिस्ट्रिक सम्मेलनमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्ने उत्कृष्ट पत्रकारलाई रु २० लाखको पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी गराए । 

सम्मानित व्यक्तित्व अग्रज पत्रकार भारदत्त कोइरालाले पत्रकारिता क्षेत्रमा आफूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरे ।  रोटरी जर्नो अवार्ड कार्यक्रमका अध्यक्ष नम्रता शर्माले पुरस्कारका लागि ५० वटाभन्दा बढी आवेदन परेका उल्लेख गर्दै ती आवेदनमध्येबाट सात विधामा सात जनालाई चयन गरिएको जानकारी गराईन् । 

प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्