परराष्ट्र नीति झनै चुनौतीपूर्ण : विज्ञहरु
काठमाडौं, फागुन २१ : विश्व अर्थराजनीति एसिया केन्द्रित हुँदै जाँदा नेपालको परराष्ट्रनीतिमा धेरै चुनौतीहरु थपिएका परराष्ट्र मामिलाविज्ञहरुले बताएका छन्....

काठमाडौं, फागुन २१ : विश्व अर्थराजनीति एसिया केन्द्रित हुँदै जाँदा नेपालको परराष्ट्रनीतिमा धेरै चुनौतीहरु थपिएका परराष्ट्र मामिलाविज्ञहरुले बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको परराष्ट्र नीतिमा आउन सक्ने चुनौती र अवसरहरु’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले विश्व राजनीतिक संरचनामा आउँदै गरेका व्यापक परिवर्तनका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध झन् चुनौतीपूर्ण बनेको विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व राजदूत ज्ञानचन्द्र आचार्यले अहिले विश्व अर्थतन्त्र र राजनीतिको गुरुत्व एसिया र खासगरी नेपालका छिमेकीहरु चीन र भारततिर सर्दै गर्दा, यस्तो अवस्था नेपालको लागि चूनौती र अवसर दुवै हुन सक्ने बताए ।
चीन र भारतको उदयसँगै नेपाल पनि तयारीको अवस्थामा रहनुपर्ने उनले बताए । चीन र भारतका आ–आफ्ना आकांक्षा भएकाले नेपालको यी दुई मुलुकसँगको सम्बन्ध र उनीहरुबीचको आपसी सम्बन्धले नेपालमा पार्न सक्ने असरको लेखाजोखा गर्नुपर्ने उनको धारणा थियो ।
चीन र भारत बाहेक नेपालले अमेरिका र अन्य पश्चिमा शक्तिहरुको सम्बन्धलाई पनि सन्तुलनमा राख्नु सिक्नुपर्ने आचार्यले बताए ।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र अमेरिका सहितको इन्डो प्यासिफिक रणनीतिबाट नेपालले नकारात्मक प्रभाव नपर्ने तरिकाले फाइदा भने लिनुपर्ने उनको धारणा थियो ।
नेपाल उपभोग्य वस्तुमा अत्यधिक परनिर्भर हुनु र रेमिट्यान्समा धेरै नै भर पर्नु चिन्ताका विषय भएकाले यसको समाधानमा ठोस पहल हुनुपर्ने उनको कथन थियो । नेपालको परराष्ट्रनीतिको सञ्चालनमा दीर्घकालीन् लक्ष्य र अल्पकालीन क्रियाकलापहरुबीच तादात्म्य कायम हुनुपर्ने धारणा पनि आचार्यले व्यक्त गरे ।
अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने विभिन्न शक्तिका स्रोतहरुमा नेपाल कमजोर भएकाले नेपालको परराष्ट्रनीति र कुटनीति अन्य राष्ट्रको भन्दा बढी प्रभावकारी हुनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । आफै चलिरहन्छ भन्ने किसिमको परराष्ट्र नीति अवको विकल्प हुन नसक्ने धारणा पनि उनले व्यक्त गरे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व राजदूत केदारभक्त श्रेष्ठले विश्वराजनीतिमा ध्यान चीन र भारततिर खिचिंदै जाँदा नेपालले यी दुई शक्तिशाली छिमेकीहरुलाई सन्तुलनमा राख्न ध्यान दिनुपर्ने बताए । परराष्ट्रनीति निर्माण र सञ्चालनमा राजनीतिक दलहरु, नीति निर्माता र विज्ञहरुको साझा धारणा हुनुपर्ने उनको कथन थियो । बाह्य शक्तिहरुबाट आर्थिक सहयोग लिएर भन्दा पनि लगानी आकर्षित गरेर अर्थतन्त्र उकास्न नेपालले ध्यान दिनुपर्ने विचार उनले व्यक्त गरे ।
कार्यक्रममा टिप्पणी गर्दै सुरक्षा विज्ञ गेजा शर्मा वाग्लेले भारत र चीनसँगको सम्बन्ध महत्वपूर्ण भए पनि पश्चिमा शक्तिहरुसँगको सम्बन्धलाई पनि नेपालले ध्यान दिनु पर्ने बताए । भारतसँगको १९५० को शान्ति तथा मैत्री सन्धीको पुनरावलोकन अबको चुनौती हुने उनले बताए । चीन र नेपालबीच बीआरआईमा हस्ताक्षर हुनु उपलब्धी भए पनि त्यसलाई नेपालको हीत हुने गरी कार्यान्वयन गर्न ध्यान दिनु पर्ने उनको धारणा थियो ।
नेपालले कामदार पठाउने मध्यपूर्वका मुलुकहरुसँगको सम्बन्धमा बढी ध्यान दिनु पर्ने वाग्लेको धारणा थियो । रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले नेपालले त्यहाँ पठाइने कामदारहरुको हकहित र सुविधाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र ती मुलुकहरुसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्ने बताए ।
मौसम परिवर्तन लगायतका विश्व कुटनीतिमा महत्वपूर्ण बन्दै गएका विषयमा पनि नेपालले ध्यान दिनुपर्ने उनले बताए । नेपाललाई प्रभावकारी र गतिशील परराष्ट्र नीति र कुटनीति आवश्यक रहेको वाग्लेले औंल्याए।
कार्यपत्रमा टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा. गोविन्द नेपालले अवको कुटनीति आर्थिक विषयमा बढी केन्द्रित हुनुपर्ने बताए । पूर्वाधार निर्माण र कनेक्टिभिटी अवको उद्देष्य हुनु पर्ने भन्दै नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
सेन्टर फर डिप्लोमेसी एण्ड डिभलपमेन्ट (सीडीडी)ले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालको परराष्ट्र नीतिमा विभिन्न चुनौती देखा परेका तर तिनलाई अवसरमा बदल्न सक्ने नीति नेपाललाई आवश्यक रहेको बताए । छलफल कार्यक्रमका सुझावहरु नेपाल सरकारको आधिकारिक निकायलाई दिइने जानकारी पनि उनले दिए ।











