‘हिमालयले जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको छ’
‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ। जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ। खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ।’
काठमाडौं, जेठ २ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिमालहरू मानव जातिका साझा स्रोत भएका बताएकी छिन्।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्त्री डा. राणाले हिमाल करोडौं मानिसको ताजा पानीको स्रोत बनेको बताइन्।
हिमालयले जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन्। यसले हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनले बताइन्।
‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ। जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ। खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ,’ परराष्ट्रमन्त्री डा. राणाले भनिन्।
मन्त्री डा. राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास भएको बताइन्। उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको उल्लेख गरिन्।
‘हाम्रा नदी, वन र हिमालहरूको सचेत संरक्षकको रूपमा, हामीले पृथ्वीको स्वास्थ्यमा आफ्नो क्षमताभन्दा बढी योगदान गरिरहेका छौं,’ उनले भनिन्, ‘तर, हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौं।’
स्थानीय समुदायहरूले जलवायु परिवर्तनको विरुद्धमा कडा संघर्ष गरिरहेका अविश्वसनीय उदाहरणहरू रहेको बताउँदै उनले तिनीहरूको स्थानीय ज्ञान र जीवनको अनुभवलाई पहिचान र महत्त्व दिनु, अनुकूलनशील बताइन्। अन्तरराष्ट्रियस्तरमा सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य बिना हुन नसक्ने उनको भनाइ छ।
‘जलवायु परिवर्तन राष्ट्रिय सीमाहरू पार गर्ने विश्वव्यापी संकट हो। जलवायु परिवर्तनले आफ्नो मार्गमा ल्याउने अस्तित्वजन्य सङ्कटमा न्याय र ऐक्यबद्धतामा आधारित विश्वव्यापी गठबन्धनभन्दा कमले कुनै प्रभाव पार्ने आशा गर्न सकिँदैन,’ मन्त्री डा. राणाले भनिन्, ‘त्यसैले, हामी संकटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभाावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गर्दछौं।’
नेपालजस्ता देशहरूको जोखिमलाई विश्वले स्वीकार गर्नुपर्ने र जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको प्रावधानमार्फत लक्षित न्यूनीकरण र अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री डा. राणाले यो मञ्चले जलवायु परिवर्तन र क्षेत्रीय र अन्तरराष्ट्रिय शान्ति, सुरक्षा र स्थिरता बीचको सम्बन्ध, साथै बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र प्रकोप जोखिमहरूमा जलवायु परिवर्तनको प्रभावहरूमा विचार गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन्।