प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस
बैठकमा सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको र सभापति विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन पेस गरे।
काठमाडौं, जेठ १ : प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेस भएको छ।
बैठकमा सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको र सभापति विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन पेस गरे।
पर्यटन समितिका सभापति यादवले समितिको गठन भएदेखि हालसम्म ४० वटा बैठक सम्पन्न भएका बताउँदै ती बैठक नीति, कार्यक्रम, कार्यान्वयन र उपलब्धिको समीक्षामा केन्द्रित रहेका जानकारी दिए। उनले वैदेशिक भ्रमणलाई प्रभावकारी बनाउने, नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयकबारे समितिले निर्देशन गरेको बताए।
पशुपति क्षेत्र विकास कोषको अवस्था सुधारबारे पनि समितिले निर्देशन दिएको थियो। समितिका बैठक विभिन्न क्षेत्रका लागि महत्त्वपूर्ण भई सरकारका विभिन्न निकायलाई आवश्यक सुझाव, निर्देशन र ध्यानाकर्षण गराउने काम भएको सभापति यादवले बताए।
त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति सुवेदीले समितिको हालसम्म ६४ बैठक र उपसमितिको ५४ बैठक गरी कूल एक सय १८ बैठक सम्पन्न गरी आवश्यक सुझाव, निर्णय र निर्देशन दिइएको जानकारी दिइन्।
समितिले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गर्नका लागि सरोकार भएका निकायलाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिएको उनले बताइन्।
समितिले कानुन र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानुनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक रायसल्लाह र निर्देशन गरेको प्रतिवेदनमा उल्लेख छ।
सभापति सुवेदीले संसदीय समितिलाई आगामी दिनमा थप क्रियाशील बनाउन समितिमा रहेका दलबीच समन्वय र सहकार्य हुनुपर्ने, समितिलाई स्रोतसाधन सम्पन्न बनाउने गरी सरकार र समितिबीचको समन्वय र सम्बन्ध सुमधुर बनाउनुपर्ने आवश्यकता रहेको खाँचो औँल्याइन्।
-(30)-1751555458.jpg)