Kathmandu Press

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय 

लिग–२को तयारीका टिमसँगै इंग्ल्यान्ड उड्नुअघि सन्दीपले सामाजिक सञ्जालमार्फत क्यानको केन्द्रिय सम्झौताबाट बाहिरिने निर्णय गरेका हुन्।
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय 

काठमाडौं, वैशाख ३१ : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रिय सम्झौताबाट बाहिरिने निर्णय गरेका छन्। लिग–२को तयारीका टिमसँगै इंग्ल्यान्ड उड्नुअघि सन्दीपले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।

सन्दीप क्यानको केन्द्रिय सम्झौतामा ए श्रेणीमा थिए। यो श्रेणीमा सन्दीसँग कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्दसिंह ऐरी, सोमपाल कामी र आसिफ सेख छन्। उनीहरुले मासिक १ लाख रुपैयाँ पाउँछन्।

Hardik ivf

सन्दीपले धेरै सोचविचारपछि आफूले यस्तो निर्णय गरेको उनले बताएका छन्। यो निर्णय क्रिकेट वा देशबाट टाढा जाने कदम नभएको बताउँदै सन्दीपले यो कदम व्यक्तिगत र व्यावसायिक विकासको लागि गरेको बताएका छन्।

‘म क्यानप्रति हृदयदेखि आभारी छु, जसले मेरो यात्रामा निरन्तर साथ दियो। नेपाल क्रिकेटको विकास र मेरो आफ्नो वृद्धिमा उनीहरूको भूमिका निकै महत्त्वपूर्ण छ,’ उनले लेखेका छन्, ‘प्रस्ट पार्न चाहन्छु-म नेपालको लागि उही जोश र समर्पणका साथ खेलिरहनेछु। त्यो गर्व र जिम्मेवारी मेरो मनमा सधैँ रहनेछ।’

साथै सन्दीपले क्रिकेटसँगै र त्यो भन्दाबाहिरको आगामी जीवनका लागि आफू उत्साहित रहेको उनले बताएका छन्। 

‘जीवन एउटा यात्रा हो, जसमा विभिन्न बाटो र जिम्मेवारीहरू आउँछन्। अझै धेरै कुरा अन्वेषण गर्न, धेरै कुरा दिन, र धेरै कुरा बन्न बाँकी छ। म आगामी बाटोको लागि उत्साहित छु—क्रिकेटसँगै र त्यसभन्दा बाहिर पनि,’ सन्दीपले समाजिक सञ्जालमा लेखेका छन्।

सन्दीपले देशप्रतिको निष्ठा र खेलप्रतिको जोश सँधै आफ्नो हरेक कामको केन्द्रमा रहने बताएका छन्। उनले आफ्नो यात्रा नयाँ उर्जा र खुला हृदयकासाथ जारी रहेको उल्लेख गरेका छन्। 

सन्दीपले आफूलाई विश्वास गर्नेहरुलाई धन्यवाद पनि दिएका छन्। 

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, वैशाख ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्