‘अहिलेकाे स्थितीमा मदिरा सेवन झन् हानीकारक’
काठमाडौं, वैशाख २३ : मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य संकटमा समयमा मदिरा सेवन नगर्न स्वास्थ्य तथा ज....

काठमाडौं, वैशाख २३ : मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य संकटमा समयमा मदिरा सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरिएको छ। मदिरा सेवनबाट मुलुकका विभिन्न भागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न आग्रह गरेको हो।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना संक्रमणको थप जोखिम बढ्ने बताए। “मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ। यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ”, उनले भने।
प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा रहेको समयमा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गरेका छन्। “मदिरा सेवनले कलेजोमा हानी गर्छ, त्यस्तै शरीरका अन्य अंगमा पनि असर गर्छ, जटिल रोगको अवस्था निम्तन सक्छ र मृत्यु पनि हुन सक्छ”, उनले भने। अधिक मदिरापानले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उनले सचेत गराए।











