Kathmandu Press

व्यवसायीहरू भन्छन्– राति १० बजे होटल बन्द गराउने निर्णयले पर्यटन व्यवसायमा नकारात्मक असर परेको छ

होटल क्षेत्रमा लाखौंको लगानी भएको, हजारौंलाई रोजगारी दिएको र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत भएको बताउँदै यो क्षेत्र चौबीसै घण्टा सञ्चालन हुनुपर्ने व्यसायीहरुको माग छ। 
व्यवसायीहरू भन्छन्– राति १० बजे होटल बन्द गराउने निर्णयले पर्यटन व्यवसायमा नकारात्मक असर परेको छ

काठमाडौं, वैशाख ३० : राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध खुला रूपमा आक्रोशित बनेका छन्। 

यो नीति पर्यटन प्रवर्द्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले आएको व्यवसायीहरुको आरोप छ। 

ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको समयमा हुने गर्छ। 

Hardik ivf

अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा राजधानी आइपुग्छन्। होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन्।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले यो कुनै पनि हिसाबले पर्यटनमैत्री नीति नभएको बताए। 

उनी भन्छन्– ‘पाहुना होटल आइपुग्छन्, खाना खान चाहन्छन्, सहरको सांस्कृतिक र रात्रिकालीन जीवन हेर्न चाहन्छन्। तर हामीकहाँ नीति यति कठोर छ कि पाहुनाले नेपाललाई पुनः भ्रमण गर्ने सोच समेत बदल्न सक्छन्।’

अहिले उज्याला सडक छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त सहरको गति भएको बताउँदै उनले यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दो सोच भएको बताए। 

होटल क्षेत्रमा लाखौंको लगानी भएको, हजारौंलाई रोजगारी दिएको र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत भएको बताउँदै यो क्षेत्र चौबीसै घण्टा सञ्चालन हुनुपर्ने व्यसायीहरुको माग छ। 

तर व्यवसायीहरू सरकारको मौनताबाट निराश छन्। पटक–पटक जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका र सरोकारवाला निकायहरूमा गुनासो राखिँदासमेत सुनुवाइ नहुनु उनीहरूका लागि थप पीडादायक बनेको छ।

सरकारले हालको नीति सुरक्षालाई आधार मानेर लिएको दाबी गर्छ। तर व्यवसायीहरूको प्रश्न छ—के अहिलेको प्राविधिक, पूर्वाधारयुक्त, सञ्चार(संवेदनशील युगमा पनि हामी पुरानै डरको धरातलमा जीउनु पर्ने हो?

महामारीपछि बल्ल उठ्न खोजेको पर्यटन व्यवसायको मुख्य आधार होटेल व्यवसाय छायामा पर्दा देशको अर्थतन्त्रमा समेत असर पर्ने व्यवसायीहरूको ठहर छ, यसर्थ रात्री १० बजे प्रहरीले सायरन बजाएर होटेल  बन्द गराउने काम बन्द हुनु पर्ने माग होटेल व्यवसायीहरूको रहेको छ।
 

प्रकाशित मिति: २१:२२ बजे, मंगलबार, वैशाख ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्