‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’
गृहमन्त्री लेखकले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए।-(10)-1747124067.jpeg)
मोरङ, वैशाख ३० : गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्।
विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन्।
‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको संचिति बढेको छ। दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन्,’ उनले भने, ‘अर्को कुरा कानुन दश महिना पहिले कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।’
गृहमन्त्री लेखकले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए।
नीतिगत भ्रष्टाचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अड्किएको छ नि? भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘त्यसमा छलफल भइरहेको छ। संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्याउछाैं। भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा अघि बढेका छौं। अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ।’
गृहमन्त्री लेखकले यो सरकार पुरा अवधि टिक्ने बताए। फोन र भेटघाटले गठबन्धन तलमाथि नहुने उनले बताए।
‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ,’ उनले भने, ‘फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन। यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ।’
यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएको बताउँदै उनले अपेक्षा गरेजति काम हुन सकेनन होला तर निरासा हुनुपर्ने अवस्था नरहेको बताए । उनले सरकारले आशा जगाउने गरि काम गरेको बताए।