प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
कार्यतालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ।
काठमाडौं, वैशाख ३० : प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ।
सभामुख देवराज घिमिरेको अध्यक्षमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो। कार्यतालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ।
दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ। छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले पाँच÷पाँच घण्टा समय पाउँदा प्रमुख पतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई घण्टा सयम पाएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच–पाँच मिनेट समय पाएका छन्।