मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक : प्रचण्ड
काठमाडौं, वैशाख २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता....

काठमाडौं, वैशाख २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन्।
उनले महान् दार्शनिक मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन्। २१औँ शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पारे।
विश्वमा महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्। उनले मार्क्सको जन्मदिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।











