‘जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ’
संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उनको दाबी छ।
सुनसरी, वैशाख २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार धरानमा किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताए।
अध्यक्ष दाहालले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताए।
संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उनको दाबी छ।
‘समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ। अब त्यसमा जहाँ कमजोरीहरू छन्, त्यहाँ संशोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘हामीले वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्यका लागि संघर्ष मात्र नभएर त्यसलाई संस्थागत गर्दै शान्तिपूर्ण राजनीतिको धारामा रूपान्तरण गर्न निरन्तर भूमिका खेलिरहेका छौं।’
संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न, आर्थिक विकास र समृद्धिका लागि जनताले कृषिलगायत क्षेत्रमा भोग्दै आएका समस्या समाधानको संकल्पसहित अगाडि बढ्नुपर्ने दाहालको भनाई थियो।