नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल फड्को- ‘हेल्थ याद आयो’
यो प्लेटफर्मले खाडी मुलुक वा अन्य देशमा रहेका नेपालीहरूलाई पनि नेपाली चिकित्सकसँग परामर्श र स्थानीय अस्पतालमा उपचारको व्यवस्था गर्न सहज बनाउँछ।
काठमाडाैं, वैशाख २५ : नेपालको स्वास्थ्य सेवा क्रमिक रूपमा सुधारोन्मुख देखिन्छ। आधुनिक प्रविधियुक्त उच्चस्तरीय स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् भने कतिपय निर्माणको चरणमा छन्।
यद्यपि, सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवाको पहुँच अझै पनि सहज छैन। बिरामीले विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न वा सर्जरीजस्ता विशिष्ट उपचारका लागि महिनौँ पर्खनुपर्ने बाध्यता छ।
अस्पताल पुगेपछि पनि टोकन, टिकट, छाप र रिपोर्टका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ। रोगले थलिएर अस्पताल पुगेका बिरामीहरू यस्ता झन्झटिलो प्रक्रियाले थप तनावमा पर्छन्। निजी स्वास्थ्य संस्थाहरूमा भने महँगो शुल्क र कतिपय अवस्थामा अनावश्यक उपचारका कारण बिरामीहरू ठगिएको समाचार बारम्बार सुनिन्छ।
सबैभन्दा महत्त्वपूर्ण विशेषज्ञ चिकित्सकसँग सम्पर्कको अभाव र उपचार प्रक्रियाको जटिलताले सर्वसाधारणको मनमा अन्योल र निराशा देखिन्छ। यस्तो अवस्थामा स्वास्थ्य सेवालाई सरल, सहज र पारदर्शी बनाउन डिजिटल प्रविधिको आवश्यकता बढ्दो छ। यही आवश्यकतालाई सम्बोधन गर्न नेपालमा सुरु भइसकेको छ- ‘हेल्थ याद आयो’।
प्रमुख कार्यकारी अधिकृत विमल बरालकाअनुसार ‘हेल्थ याद आयो’ एक समष्टिगत डिजिटल स्वास्थ्य सेवा प्लेटफर्म हो, जसको मुख्य उद्देश्य बिरामीहरूलाई सहज, छरितो र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्नु हो। यो प्लेटफर्मले बिरामी र कुरुवालाई झन्झटमुक्त अनुभव प्रदान गर्छ, जसले उपचार प्रक्रियालाई सरल बनाउँछ। बिरामीहरूले घरमै बसेर टेलिमेडिसिनमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्छन्।
यदि अस्पतालमा उपचार आवश्यक छ भने आफूलाई पायक पर्ने अस्पताल र विशेषज्ञ चिकित्सकको समय मोबाइल एपमार्फत सजिलै बुक गर्न सकिन्छ। यो प्लेटफर्मले बिरामीहरूलाई आफ्नो मेडिकल रेकर्ड व्यवस्थित गर्न, प्रयोगशाला परीक्षण बुक गर्न र सहुलियत दरमा औषधि घरमै मगाउन सुविधा दिन्छ। अत्यावश्यक अवस्थामा रगत आपूर्ति वा एम्बुलेन्स सेवाको व्यवस्था पनि यो प्लेटफर्मले गर्छ।
‘हामी केबल नेपालभित्रको स्वास्थ्य सेवामा मात्र सीमित छैनौँ, यसले अन्तर्राष्ट्रिय स्तरमा पनि विदेशीहरूलाई नेपालमा स्वास्थ्य उपचार प्रदान गर्न र नेपालीहरूलाई विदेशमा उपचारको व्यवस्था गर्न सहज बनाउन मद्धत गर्छौँ,’ बरालले भने।
उदाहरणका लागि जटिल रोगको उपचारका लागि भारत वा अन्य देशका प्रतिष्ठित अस्पताल र विशेषज्ञ चिकित्सकसँग जोडिन यो प्लेटफर्मले सहजीकरण गर्छ। साथै यात्रा व्यवस्थापन, आवास र भिसा प्रक्रियामा सहयोग प्रदान गरेर बिरामीको विदेश उपचारलाई सहज बनाउने उनले बताए। नेपालबाट हरेक वर्ष हजारौँ बिरामी जटिल रोगको उपचारका लागि विदेश जाने गर्छन्। सूचना अभाव र सम्पर्कको कमीले उनीहरूले धेरै कठिनाइ बेहोर्नुपर्छ। विदेशमा उपचार व्यवस्थापन गर्न निकै झन्झटिलो हुन्छ। ‘हेल्थ याद आयो’ले यस्ता समस्यालाई समाधान गर्छ।
प्रबन्ध निर्देशक प्रज्वल चुकेकाअनुसार यो प्लेटफर्ममा भारतलगायत अन्य देशका प्रतिष्ठित अस्पताल र विशेषज्ञ चिकित्सकको विवरण, उपचारको प्रारम्भिक लागत र उनीहरूको उपलब्धताको जानकारी उपलब्ध हुन्छ। बिरामीहरूले उपचार योजना बनाउन र आवश्यक व्यवस्था गर्न सजिलो हुन्छ। उपचारपूर्व र पछिको टेलि(परामर्श सुविधाले बिरामीको आत्मविश्वास र हौसला बढाउँछ। विशेषगरी जटिल स्वास्थ्य अवस्थामा घरमै विशेषज्ञ चिकित्सकको सल्लाह उपलब्ध हुँदा बिरामीको जीवन रक्षामा ठूलो सहयोग पुग्ने विश्वास चुकेको छ।
यो प्लेटफर्मले खाडी मुलुक वा अन्य देशमा रहेका नेपालीहरूलाई पनि नेपाली चिकित्सकसँग परामर्श र स्थानीय अस्पतालमा उपचारको व्यवस्था गर्न सहज बनाउँछ। यसले विदेशमा रहेका नेपाली डायस्पोरालाई आफ्नो स्वास्थ्य सेवामा नेपाली विशेषज्ञसँग जोड्ने अवसर प्रदान गर्छ।
‘हाम्रो लक्ष्य हरेक नेपालीलाई आफ्नो स्वास्थ्य निर्णयमा सशक्त बनाउनु हो, चाहे उनीहरू नेपालमा हुन् वा विदेशमा,’ चुकेले भने। नेपालभित्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन पनि ‘हेल्थ याद आयो’ले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। विशेषगरी शहरी र अर्ध–शहरी क्षेत्रमा बसोबास गर्ने प्रयोगकर्ताहरूका लागि यो प्लेटफर्म निकै उपयोगी सावित भएको छ। एकपटक यो प्लेटफर्ममा सूचीकृत भएपछि बिरामीहरूले फलोअप नोटिफिकेसन प्राप्त गर्छन्। उनीहरूले घरमै नमूना संकलनका लागि ल्याबलाई बोलाउन सक्छन्। डिजिटल प्रेस्क्रिप्सनको सुविधाले औषधि मगाउन पनि सजिलो हुन्छ।
त्यस्तै, यो एपको डिजाइन सरल र प्रयोगकर्तामैत्री छ, जसले हरेक नागरिकलाई आफ्नो स्वास्थ्य निर्णयमा सशक्त बनाउने उद्देश्य राख्छ। समयको बचत, सेवामा पारदर्शिता र विशेष प्याकेजमार्फत किफायती स्वास्थ्य सेवा प्रदान गर्न यो प्लेटफर्म सधैँ तत्पर छ। ‘हामी स्वास्थ्य सेवालाई पारदर्शी र बिरामी–केन्द्रित बनाउन चाहन्छौँ, ताकि कसैले पनि उपचारको झन्झट र अनावश्यक खर्च बेहोर्न नपरोस्,’ प्रमुख कार्यकारी अधिकृत बरालले भने।
डिल्लीबजारमा विशेषज्ञ चिकित्सक भेट्नुपर्ने होस् वा दिल्लीमा, स्वदेशमा उपचार गर्नुपर्ने होस् वा विदेशमा, यो प्लेटफर्मले बिरामीहरूलाई आत्मविश्वासका साथ स्वास्थ्य सेवा प्रदान गर्ने बरालको भनाइ छ।