Kathmandu Press

महोत्तरीमा मृत्युको कारण कोरोना नभएको पुष्टि

महोत्तरी, वैशाख २३ : महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि भएको छ।

वैशाख ११ गतेदेखि आइतबारसम्....

महोत्तरीमा मृत्युको कारण कोरोना नभएको पुष्टि

महोत्तरी, वैशाख २३ : महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि भएको छ।

वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा १२ जनाको मृत्यु भएको थियो। उनीहरुमध्ये पछिल्लो तीन जनाको कोरोना परीक्षण गरिएको थियो। दुई जनामा कोरोना नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो। मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार निधन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले बताए।

बर्दिवास–१२ र भङ्गाहा–६ र ७ का जोडिएका बस्तीमा पछिल्ला ११ दिनभित्र १२ जनाको मृत्यु भएपछि गत शनिबारदेखि यहाँ स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य सङ्गठन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका  चिकित्सक टोली घटनाको कारण खोज्न अनुसन्धानमा व्यस्त छ। हालसम्मको अध्ययन र अनुसन्धानबाट धेरैजसोको मृत्युको कारण विषाक्त मदिरा सेवन नै भएको स्वास्थ्य सेवा विभागका  डा.अमृत पोखरेलले बताए।

यद्यपि मृतकहरुको भिसेरा परीक्षणको नतिजा आएपछि एकीनसाथ भन्न सकिने डा.पोखरेलसहितका चिकित्सक टोलीको भनाइ छ। “बस्तीमा दिनहुँजसो भटाभट मान्छे मरिरहेपछि कोरोना हो कि भन्ने त्रास व्याप्त थियो,” अनुसन्धान टोलीमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.खेम शर्माले भने, “त्यो त्रास भने अब हटेको छ, मृत्युको कारण अनियन्त्रित मदिरा सेवनसँगै जोडिएको देखिन्छ।”

दुई नगरपालिकाका एकअर्कोसँग जोडिएका बस्तीमा यस अवधिमा मृत्यु भएकामध्ये भङ्गाहा–७ का सात, भङ्गाहा–६ का एक र बर्दिवास–१२ का चार जना छन्। मृतकमध्ये एक महिला र अन्य सबै पुरुष छन्।

सोमबार प्रभावित बस्ती पुगेका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले मृतक परिवारका आश्रित बालबालिकाको शिक्षादीक्षा र अतिआवश्यकीय गर्जो टार्न प्रतिपरिवार एक लाख रुपैयाँ राहत प्रदेश सरकारले उपलब्ध गराउने बताए।

प्रदेशमा अब अवैध मदिराभट्टी पूर्णरूपले बन्द गर्न आवश्यक सबै तयारी गरिने मन्त्री यादवको भनाइ थियो। (रासस)

प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्