तेस्रो पटक अमेरिकी राष्ट्रपति चुनाव लड्नेबारे ट्रम्पको यस्तो खुलासा
“म आठ वर्ष राष्ट्रपति पदमा रहनेछु । म दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनेछु । मैले यो धेरै महत्वपूर्ण मानेको थिएँ,” ट्रम्पले आइतबार प्रसारण भएको एनबीसीको मिट द प्रेस कार्यक्रममा भने ।
वासिङ्टन, वैशाख २२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्न खोजेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
“म आठ वर्ष राष्ट्रपति पदमा रहनेछु । म दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुनेछु । मैले यो धेरै महत्वपूर्ण मानेको थिएँ,” ट्रम्पले आइतबार प्रसारण भएको एनबीसीको मिट द प्रेस कार्यक्रममा भने ।
७८ वर्षीय ट्रम्पले यसअघि अमेरिकी राष्ट्रपतिको रूपमा तेस्रो वा चौथो कार्यकालको लागि सेवा गर्ने चाहनाको बारेमा ‘मजाक गरिरहेको छैन’ भनेका थिए। पछि उनले यो भनाइको उद्देश्य ‘फेक समाचार मिडिया’ लाई ट्रोल गर्ने थियो भनेर बताएका थिए ।
उनको कम्पनी, द ट्रम्प अर्गनाइजेसनले ‘ट्रम्प २०२८’ लेखिएका टोपीहरू बेचिरहेको छ, जसले गर्दा जनवरी २०२९ मा आफ्नो दोस्रो कार्यकाल समाप्त भएपछि पनि उनी पदमा रहन खोज्न सक्छन् भन्ने अनुमानलाई बढवा दिइरहेको छ।
उनले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो लगायत आफ्नो ठाउँ लिन सक्ने धेरै रिपब्लिकनहरूको सूची पेस गरे। संविधानको २२ औँ संशोधनले ‘कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउने छैन’ भनी उल्लेख गरेको छ।