भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी गिरी चार दिनदेखि नेपालमा
१७ गते पोखरामा आयोजित कोटिहोमको उदघाटन गरेका थिए । गिरीले आज मुस्ताङको दामोदर कुण्डमा पुजा गरेर पोखरा फर्किएका छन्।
काठमाडौं, वैशाख २० : भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी ४ दिनदेखि नेपालमा छन् स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर पुजाअर्चना गरिरहेका छन्।
भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आएका थिए । उनी बैशाख २६ गतेसम्म नेपाल बस्नेछन्।
१६ गते पशुपतिनाथ मन्दिरमा विशेष पुजाआजाका लागि गएका गिरीलाई पशुपति क्षेत्र विकास कोषले स्वागत र सम्मान गरेको थियो । सम्मानपछि मन्दिरमा विशेष पुजाआज गरेका उनी त्यसैदिन पोखरा गएका थिए । १७ गते पोखरामा आयोजित कोटिहोमको उदघाटन गरेका थिए । गिरीले आज मुस्ताङको दामोदर कुण्डमा पुजा गरेर पोखरा फर्किएका छन्।
गिरी २१ गते लुम्बिनी पुगेर बुद्धको जन्मस्थल र मायादेवी मन्दिरको अवलोकन गर्नेछन् । उनले २२ गते रसुवाको गोसाइकुण्डमा पुजा गर्ने कार्यक्रम तय भएको छ । २३ गते ललितपुरमा रहेको दक्षिणकाली मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । उनले काठमाडौँका चन्द्रगिरी रिसोर्टदेखि गोकर्ण रिसोर्टसम्म भ्रमण गर्ने र बास बस्ने कार्यक्रम तय भएको छ ।
गिरी २६ गते नयाँ दिल्ली फर्किने कार्यक्रम तय भएको छ। भारतमा निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पुज्य स्वामी कैलाशानन्द गिरी चिनिने उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरू बताउँछन्। गिरीलाई भारत पुगेको बेलामा अधिंकाशं नेपाली नेताले भेट्ने गरेका छन् । नेपालमा पनि उनलाई सुरक्षा प्रदान गरिएको स्रोतहरू बताउँछन्।
गिरीलाई नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेलामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितले स्वागत गरेका थिए।