शिक्षा मन्त्रालयले निर्देशन- अर्को निर्णय नभएसम्म विद्यार्थी भर्ना नलिनू
काठमाडौं, वैशाख २२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन....

काठमाडौं, वैशाख २२ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न / नगराउन निर्देशन दिएको छ।
कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको भेटिएपछि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न / नगराउ निर्देशन दिएको हो।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवीरुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ। मन्त्रालयले स्थगन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइएको छ।











