जनकपुरमा जानकी जन्मोत्सव सुरु
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।
धनुषा, वैशाख १६ : पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ ।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।
जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।
सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)