Kathmandu Press

अप्रिलको पलेँटीमा संगीता प्रधान

उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन्।
अप्रिलको पलेँटीमा संगीता प्रधान

काठमाडौं, वैशाख ११ : सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक पलेँटीमा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीताले अप्रिल २५ र २६ मा गीत गाउने भएकी हुन् ।

संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन्। कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ।

Hardik ivf

१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता निक्कै उत्साहित देखिन्छिन्। उनी भन्छिन्, ‘पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छु, म उत्साहित छु । पलेँटीका श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ । खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म 'नोस्टाल्जिक' बन्ने गर्छु ।'

२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी- क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु।'

संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ-शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्तिनिकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन्।

पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्नशमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् । ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजी, शन्ति ठटाल, मानवीर सिंहः गुरुदेव कामत, अमृत गुरुङ र आभासले भरेका छन्।
 
पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुन्छ।

पलेँटीमा सहभागी हुन छिटो सिट बुक गर्नेलाई सहुलियत दरको अनलाइन टिकटको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: ११:३९ बजे, बिहीबार, वैशाख ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्