शिक्षकको माग वार्तामार्फत समाधान गर्न मानवअधिकार आयोगको आग्रह
आयोगले मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको समेत जनाएको छ।
काठमाडौं, बैशाख २ : राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकको माग वार्ता र छलफलमार्फत समाधान गर्न आग्रह गरेको छ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षकका माग वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरेको हो।
आयोगद्वारा जारी विज्ञप्तिमा आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएकोतर्फ ध्यानाकर्षण समेत गराएको छ।
आयोगले मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको समेत जनाएको छ। शिक्षकसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आयोगले सरकारलाई आग्रह समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्तावाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निमर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरूसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’