समाजसेवी एवम् राजनीतिक व्यक्तित्व पौडेलको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं, वैशाख १ : समाजसेवी एवम् राजनितिक व्यक्तित्व भूपति शर्मा पौडेलको निधनको १३औं दिनको पुण्य तिथिमा सोमबार काठमाडौंको थापागाउँस्थित पन्चकुमारी श्रद्धा प्रतिष्ठान, लाखेचौरमा शोक सभाको आयोजना गरियो।
पौडेलको ८६ वर्षको उमेरमा २०८१ चैत २० गते निधन भएको थियो । निधन भएका पौडेल स्वर्गिय उमानाथ प्रतिष्ठान, बागलुङ– पैयुँपाटाका संस्थापक सदस्य, पुर्व अध्यक्ष एवम् संरक्षक समेत थिए । श्रद्धाञ्जली सभामा संस्थाका संस्थापक सदस्य एवम् पुर्व अध्यक्ष रहेका संविधान सभाका सदस्य प्रकाश शर्मा पौडेलले भूपति शर्मा पौडेल २०१५ साल देखि नै राजनीतिमा क्रियाशील रहेको जानकारी दिए । साथै, स्वर्गिय भूपति शर्मा पौडेलको शैक्षिक र सामाजिक व्यक्तित्वका बिषयमा पनि संविधान सभाका सदस्य पौडेलले चर्चा गरे।
प्राध्यापक.डा.भागवत ढकालले उमानाथ प्रतिष्ठानका गतिविधि र स्वर्गिय पौडेलको पारिवारिक योगदान, उमानाथ स्मारिका २०६९ र उमानाथ प्रतिष्ठानले प्रकाशन गरेका “उनको कथा,” शब्द चित्रमा ‘‘शब्द चित्रमा शालिग्राम २०८१” पुस्तक बारे चर्चा गरे । यस्तै, नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिका उपसभापति शालिग्राम शर्मा पौडेलले उक्त संस्थाले स्थापना गरेका असल आमा पुरस्कार, असल बुहारी पुरस्कार, शान्ती शालिग्राम कृषि पर्यटन पुरस्कार, भूपति ज्येष्ठ नागरिक पुरस्कार, दलित पुरस्कार, प्रतिभा पुरस्कार समेतका पुरस्कारसँगै संस्थाको आचारसंहिता समेतको बारेमा प्रकास पारे।
यस्तै, सुप्रसिद्ध साहित्यकार एवम् अन्वेषक स्वर्गिय पूर्ण प्रकाश नेपाल यात्री अध्ययन अनुसन्धान, केन्द्रका अध्यक्ष रहेका साहित्यकार प्राध्यापक डा.शैलेन्दु प्रकाश नेपालले भूपति शर्मा पौडेलको सामाजिक व्यक्तित्व, यात्री अनुसन्धान केन्द्र र उमानाथ प्रतिष्ठान बीचका अन्तर सम्बन्धको बारेमा चर्चापरिचर्चा गरेका थिए । यस्तै, बाग्लुङमा स्थानीय विकाश अधिकारी र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरी हाल काठमाडौँमा बसोबास गर्ने बिष्णु बहादुर थापाले भुपति शर्मा पौडेल र उमानाथ प्रतिष्ठानका गतिबिधिबारे चर्चा गरे ।
संस्थाका संस्थाका ‘प्रेसिडेन्ट ईलेक्ट’ अधिवक्ता दिपेन्द्र पौडेलको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा संस्थाका संस्थापक सचिव एवम् पुर्व अध्यक्ष वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले सम्पूर्ण परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै संस्थाको भूपति जिवकुमारी कोषमा सम्पूर्ण परिवारको तर्फबाट १ लाख थप गर्ने घोषणा गरे । साथै, वरिष्ठ अधिवक्ता पौडेलले वार्षिक पुण्य तिथिसम्ममा भूपति जिवकुमारी स्मृति विशेषाङ्क प्रकाशन गर्ने घोषणासहित धन्यवाद व्यक्त गरेका थिए । स्वर्गबासी भूपति शर्मा पौडेलका परिवारजन, शुभेच्छुक तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त सभामा स्वर्गवासी पौडेलको फोटोमा माल्यार्पण एवम् एक मिनेट मौन धारण गरिएको थियो ।
उमानाथ प्रतिष्ठान– पैयुँपाटाले उमानाथ उपाध्यायको स्मृतिमा २०४६ सालमा १० हजार रुपैयाँ राखेर संस्था स्थापना गरेको जनाएको छ । उक्त संस्थामा हाल १५ लाख अक्षयकोष रहेको छ । संस्थाको मातहतमा रहेको भूपति जिवकुमारी कोषले असल आमा, असल बुहारी, ज्येष्ठ नागरिक पुरस्कार प्रदान गर्ने, शान्ती शालिग्राम कोषबाट कृषि पर्यटन पुरस्कार, आत्माराम दुर्गा देबी कोषबाट संस्कृति प्रतिभा पुरस्कार र पुर्व प्रधानमन्त्री टंक प्रसाद आचार्य रेवन्त कुमारी शिक्षा विकास कोषबाट दलित छात्रवृत्ति पुरस्कार, हरि बिना गरिब जेहेन्दार कोषहरु समेतबाट वार्षिक करिव १ लाख २० हजार रुपैयाँ बराबर विभिन्न क्षेत्रमा पुरस्कार प्रदान गर्खै आएको जानकारी समेत दिइएको छ । उक्त संस्थामा आठ जना संस्थापकहरु, विशिष्ठ सदस्य र आजीवन सदस्य गरी करिब १ सय ५० जना सदस्यहरु रहेका छन् ।