Kathmandu Press

रियलमाथि आर्सनलको सानदार जित

एमिरेट्स स्टेडियममा भएको यो खेलमा डेक्लान राइसले दुई शानदार फ्रि–किक गोल गरे भने मिकेल मेरिनोले तेस्रो गोल थपे।
रियलमाथि आर्सनलको सानदार जित

काठमाडाैं, चैत २७ : च्याम्पियन्स लिगमा आर्सनलले ऐतिहासिक जित निकालेको छ। मंगलबा राति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियल मड्रिडमाथि ३–० को शानदार जित निकाल्यो। 

एमिरेट्स स्टेडियममा भएको यो खेलमा डेक्लान राइसले दुई शानदार फ्रि–किक गोल गरे भने मिकेल मेरिनोले तेस्रो गोल थपे। यो जित आर्सनलको च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा ठूलो जितमध्ये एक मानिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो। ५८औं मिनेटमा राइसले पहिलो फ्रिकिकमा गोल गरे, जुन उनको ३ सयबढी खेलमा पहिलो फ्रिकिक गोल थियो। उनले रियलका गोलकिपर थिबाउट कोर्टुवाको कमजोर वाल सेटअपको फाइदा उठाए। 

केही मिनेटपछि उनले फ्रिकिकमै अर्को गोल गरे, जसले आर्सनललाई २–० को अग्रता दिलायो। राइस च्याम्पियन्स लिगको नकआउट चरणमा दुई फ्रिकिक गोल गर्ने पहिलो खेलाडी बने। खेलको ७५औँ मिनेटमा मिकेल मेरिनोले उत्कृष्ट फिनिस गर्दै तेस्रो गोल गरे। 

रियलका एडुवार्डो कामाभिङ्गाले दोस्रो हाफको इन्जुरी समयमा दोहोरो पहेंलो कार्ड पाएर मैदान छोडेपछि रियल १० खेलाडीमा सीमित भएको थियो।

आर्सनलले खेलमा ११ सट अन टार्गेट प्रहार गर्‍यो, जबकि रियलले जम्मा ३ सट मात्र अन टार्गेट राख्न सक्यो। रियलका किलियन एम्बाप्पे र जुद बेलिङ्घमले केही अवसर सिर्जना गरे, तर आर्सनलका गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाउ गरे। रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले दोस्रो हाफमा टिमको प्रदर्शनलाई लिएर आलोचना खेप्नुपरेको छ।
 

प्रकाशित मिति: ११:२४ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्