जनअधिकार संकुचित बनाउने कुनै राजनीतिक पद्धति स्वीकार्य हुँदैनः माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसंघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए।
काठमाडौं, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसंघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए।
पार्टी निकट आदिवासी जनजाति महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताए।
निरंकुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने धारणा राखे।
पूर्वप्रधानमन्त्री नेपालले जनताका मागलाई जोडेर जनसङ्घर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको साङ्गठनिक सुदृढीकरणमा जनपरिचालनको महत्व तथा अन्तरराष्ट्रिय अभ्यासबारे सम्बोधन गरे।
उनले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको बताए।
