पाँचथरमा डढेलोबाट दुईजनाको मृत्यु, ६ जना घाइते, सात घर जले
मृत्यु हुनेमा फिदिम नगरपालिका–१३ की उषाकला राई नेम्वाङ र कुम्मायक–३ की प्रतिमा सम्वाहाम्फे छन्।
फिदिम, चैत २१ : पाँचथरमा जङ्गलमा लागेको डढेलोमा फस्दा दुई जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा फिदिम नगरपालिका–१३ की उषाकला राई नेम्वाङ र कुम्मायक–३ की प्रतिमा सम्वाहाम्फे छन्।
बिहीबार दिउँसो कुम्मायक–३ को जङ्गलमा लागेको डढेलोमा फस्दा २२ वर्षीया सम्बाहाम्फेको निधन भएको थियो। उनको बिहीबार राति निधन भएको प्रहरीले जनाएको छ।
यस्तै, दाउरा खोज्न गएका बेला ४७ वर्षीया नेम्वाङको मृत्यु भएको थियो। उनी फिदिम–१३ को जौवारी जङ्गलमा सल्केको डढेलोमा फस्दा गम्भीर घाइते भएको जनाइएको छ।
नेम्वाङलाई काठमार्डौको बर्न अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको हो। कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा, पदम खड्का, सपना सम्बाहाम्फे र निरमाया सम्बाहाम्फेलाईलाई उपचारका लागि विराटनगर लगिएको छ।
डढेलोमा पर्दा घाइते भएकामध्ये सपना र सम्बाहाम्फेको अवस्था जटील रहेको जनाइएको छ । प्रहरीले जनाए अनुसार आगोमा जल्दा निभाउने क्रममा कुम्मायक–१ का ५५ वर्षीय धनबहादुर विश्वकर्माको खुट्टा भाँचिएको छ।
कुम्मायक–३ की बालिका ११ वर्षीया सिवाना सम्वाहाम्फे पनि घाइते भएकी छन्। कुम्मायकमा भएको आगलागीमा परी सात जना सर्वसाधारणको घर जलेको छ। आगलागीबाट ४० लाख रुपियाँ भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ।