वैदेशिक रोजगार व्यवसायी संघको सचिव पदमा सापकोटाले दिए स्वतन्त्र उम्मेदवारी
संघको नेतृत्वका लागि पार्टीगत तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
काडमाडाैं, चैत २१ : आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनमा अक्सन इन्टरनेशनलका संचालक इश्वर सापकोटाले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
संघको नेतृत्वका लागि पार्टीगत तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
संघमा निर्वाचनका लागि दलगत गठबन्धन बनाएर दुई प्यानल बनेको छ। भुवन गुरुङको प्यानलमा काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले चुनावी तालमेल गरेका छन्। उनीहरुले गत सोमबार नै उम्मेदावर घोषणा सभा गरिसकेका छन्। यद्यपी अहिले अवस्थामा कांग्रेस र माओवादीको यो तालमेललाई अनौठो मानिएको छ।
अर्को नेकपा एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चबाट नरेश गेलालको नेतृत्वमा समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेल भएको छ। त्यति मात्र होइन गेलालको प्यानलमा लोकतान्त्रिक एशोसिएशनबाट असन्तुष्ट रहेकाहरुको समेत सहभागिता रहेपछि धेरै व्यवसायीहरु यी तामलेलबाट असन्तुष्ट रहेका छन्।
संघको नेतृत्वमा जानेहरुले राजनैतिक खोल ओडेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै सचिव पदमा उम्मेद्धारी दिएको उनले बताए। वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित रोजगार बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत सापकोटा बताउँछन्।
व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित सापकोटाकोे उम्मेद्धारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन्।
सापकोटाले संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने, नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, जापानमा रोजगार मेला आयोजना गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढुवा दिने र स्वतन्त्र रुपमा व्यवसाय गर्नेहरुलाई उच्च सम्मानका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
व्यवसायी सापकोटाले विगत १७ वर्षदेखि कन्सलट्यान्सी संचालन गर्दै आइरहेका छन् भने ८ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेर नेपाली श्रमिकहरुलाई सुरक्षित गन्तव्यमा पठाइरहेका छन्।
निःशुल्क जापानिज भाषा सिकाएर हालसम्म करिब २ हजार नेपालीलाई जापान पठाइसकेका सापकोटा संघका पूर्वअध्यक्ष स्वर्गीय विष्णु गैरे आवद्ध म्यानपावर अक्सन इन्टरनेशनल प्रा।लि। का व्यवसायीक साझेदार हुन्।
व्यवसायीहरुको आफ्नै प्रशासनिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटाले भवन खरिदका लागि अधिकतम आर्थिक सहयोग गरेका छन्।
संघको आगामी कार्यकालका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट अध्यक्षमा भुवन गुरुङको प्यानल र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्षमा नरेश गेलालको नेतृत्वमा रहेका छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रने भएका छन् ।