Kathmandu Press

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारलाई कसैले पनि बिर्सन नहुने धारणा राखे।
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

काठमाडौं, चैत २० : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित गरेको बताएका छन्।  

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत रेडियो नेपालको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे।

राष्ट्रपति पौडेलले भने, 'नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ। स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ। यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।'

Hardik ivf

राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारलाई कसैले पनि बिर्सन नहुने धारणा राखे।

'लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफैले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ। संघीय  लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो। तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गरिरहँदा राज्य, कानुन र जनताप्रति हामी जिम्मेवार हुनु जरुरी छ,' उनले भने।

 नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सञ्चार जगतको यो महत्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्णप्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको स्पष्ट गरे।

उनले आफू र आफ्ना पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको जनाउँदै समाचारका अतिरिक्त शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यक्रम आज पनि आफ्नो स्मृतिमा मीठो सम्झना बनेर आइरहेको स्मरण गरे।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चारमाध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा संस्थाले लिएका लक्ष्य पूरा हुने उल्लेख गर्दै सञ्चारमाध्यम विपद्का बेला आमनागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प, कोरोना महामारीलगायत विपद्का बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले पुर्‍याएको योगदानबाट पुष्टि भएको बताए।

राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल मुलुकको इतिहासमा दुई जुम्ल्याहा घटना भएको उल्लेख गर्दै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्‍याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए।

उनले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै आजका दिन रेडियो नेपाल हुनुमा स्वर्गीय कोइरालाको लोकतान्त्रिक चेतना र मूल्यमान्यता मुख्य कारण भएको बताए।

'अहिले आएर रेडियो नेपाल स्वतन्त्र, स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमका रूपमा विकास भएको छ। त्यसैले, लोकतान्त्रिक मूल्यमान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु,' उनले भने।

समारोहमा राष्ट्रपति पौडेलले जनगायक रामकृष्ण दुवाल र देउडा गायक नन्दकृष्ण जोशीलाई ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान–२०८१’ बाट सम्मान गरे। साथै उनले वरिष्ठ संगीतकर्मीहरूलाई पनि सम्मान गरे।

रेडियो नेपालकको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ¬ले उत्कृष्ट कर्मचारी, समाचारदाता र प्रदेश कार्यालय तथा २५ वर्ष अविछिन्न सेवा प्रवाह गरेका २२ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरे। उनले रेडियो नेपालले प्रकाशन गरेको ‘झंकार’ र पूर्वनिर्देशक टीका भण्डारीको ‘रेडियो नेपाल ७५ वर्षः एक सय एक स्रष्टा’ पुस्तक विमोचन गरे।

नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल आजदेखि औपचारिक प्रसारणको ७५औँ वर्षमा प्रवेश गरेको छ। विसं २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापना भएलगत्तै २००७ चैत २० गते रेडियो नेपालको स्थापना भएको थियो। समावेशी आवाज बनेको रेडियो नेपालबाट २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रमसहित सातै दिन २४सै घन्टा सेवा प्रसारण हुँदै आएको छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, चैत २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्