भोलिदेखि उद्योगीले भारतबाट ग्यास नल्याउने
काठमाडौं, फागुन १९ : ग्यास उद्योगी र उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको वार्ता असफल भएको छ । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारी....
काठमाडौं, फागुन १९ : ग्यास उद्योगी र उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको वार्ता असफल भएको छ । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारी र मन्त्रालयका सचिव यमकुमारी खतिवडाबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।
उद्योग संघका अध्यक्ष गोकुल भन्डारीका अनुसार सचिव र उद्योगीबीच भएको छलफल सकारात्मक नभएकोले आन्दोलनका कार्यक्रम यथावत रहेका छन् । फागुन ३० देखि ग्यास बिक्री वितरणनै रोक्ने चेतावनी दिएका उद्योगीहरू झन आक्रोसित बनेका छन् ।
‘हामीले कमिसनको कुरा गरेको होइन, दीर्घकालिन समाधान खोजेका हौं । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ,’ अध्यक्ष भन्डारीले भने । उनका अनुसार ग्यास उद्योगीले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद गर्न छाडेका छन् ।
फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री बन्द गर्नेसहितका हड्तालका कार्यक्रम रहेको अध्यक्ष भन्डारीले जानकारी दिए ।
बिक्रेता वितरकको कम्तिमा ६ प्रतिशत कमिसन हुनुपर्ने माग गरेका छन् । यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्नेहरूको बीमा गरिनु पर्ने र ग्यास बिक्रेताहरूलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले गरेको छ ।
उद्योगीले ग्यास आयातको कोटा निर्धारण ६/६ महिनामा गरिनुपर्ने, नेपाली बुलेट संचालनमा ल्याउनुपर्ने, ग्यास उद्योगको संचालन खर्च र बिक्रेता तथा वितरकको कमिसन बढाउनुपर्ने माग राखेका छन् । त्यस्तैगरी तराईमा घटाइएको कमिसन बढाउनुपर्नेलगायत १० बुँदे माग रहेको अध्यक्ष भण्डारीले बताए ।
अत्यावश्यक सेवामा हड्ताल र बन्द गर्न पाइदैन नि भन्ने काठमाडौंप्रेसको प्रश्नमा भन्डारीले भने, ‘हामीलाई ६ वर्षदेखि माग पूरा गर्छु भनेर मुद्दा सुनुवाइ गरिएन । आन्दोलन गर्न नहुने हामीलाई जानकारी भएपनि सरकारले बाध्य पारेको छ ।’
लामो समयको राजनीतिक संक्रमण र निर्वाचनका कारण उद्योगीले घाटामै उद्योग चलाए पनि सरकारले आफ्नो माग नसुन्दा बन्द–हड्तालका कार्यक्रम सार्वजनिक गर्नुपरेको भण्डारीको भनाइ छ । साथै सो अवधिमा समस्याका कारण धेरै उद्योग खरिदबिक्री भएको र कतिपय उद्योगीले घरखेत बिक्री गरेर उद्योग चलाउनु पर्ने बाध्यता रहेको उनले बताए ।






