Kathmandu Press

तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ : कृष्ण सिटौला

राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’ सिटौलाको प्रश्न थियो।
तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन्।

शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पुर्व राजाको धारणा माग गरेका हुन्।

Hardik ivf

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ,’ सिटौलाले भने।

सिटौलाले पूर्वराजालाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्ने समेत बताए।

‘पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन,’ सिटौलाले भने।

उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’ सिटौलाको प्रश्न थियो।

उनले राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र नउल्टिने पनि बताए।

‘गणतन्त्र अहिलेको महान उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो,’ उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो, यी उल्टिँदैनन्।’ 

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्