‘शान्ति प्रक्रिया टुंग्याउने विषयमा दलहरुबीच विवाद छैन’
उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको बताए।
काठमाडौं, चैत १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया टुंग्याउने विषयमा दलहबीच विवाद नरहेको बताउँदै नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए।
‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरु छन्। प्रमुख दलहरु नै पनि कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरु छ,’ उनले भने, ‘तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौं।’
उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको बताए। संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा भएको भन्दै उनले यसमा राजनीति गर्नु नहुनेमा पनि उनको जोड थिए।
कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक समस्याका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न समय लागेको भन्दै उनले यसलाई पनि नेपालको मौलिक विशेषता अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गरे।
