देश कसरी बनाउने भन्नेबारे नयाँ शिराबाट छलफल गर्नुपर्न बेला भयो: शंकर पोखरेल
उनले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए।
काठमाडौं, चैत १३ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय युवा सङ्घ नेपालको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले नयाँ सिराबाट मुलुक अगाडि बढाए मात्र विकास हुने बताए।
महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढंगले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको बताए।
कतिपयले पञ्चायत शासन कालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै महासचिव पोखरेलले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गरे।
उनले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए।
एमालेले अलोकतान्त्रिक गतिविधि बढेको भन्दै उनले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको बताए।
सो घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिएको छ।
सोही र्यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो।
भेलामा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताए।