Kathmandu Press

प्रधानमन्त्रीले भने- एउटा कर्मचारी हटाएको विषयमा जवाफ दिइरहन पर्दैन

'एउटा कर्मचारी हटाउँदा विपक्षीहरू छाती पिटीपिटी रोए'
प्रधानमन्त्रीले भने- एउटा कर्मचारी हटाएको विषयमा जवाफ दिइरहन पर्दैन

काठमाडौं, चैत १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारी हटाएको विषयमा जवाफ दिइरन आवश्यक नरहने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीका सम्बन्धमा एउटालाई हटाएर अर्कोलाई नियुक्त गरेपछि त्य विषय त्यहीँ सकिएको बताएका हुन्।

'प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो,सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,' उनले भने।

Hardik ivf

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा विपक्षीहरू छाती पिटीपिटी रोइरहेको बताए।

'यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस्, आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ  । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । जिम्मेवार बन्नुहोस् । हाम्रो हकमा, हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ,' उनले भने।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

प्राधिकरणमा रहेर सरकारको निर्देशन अनुसार काम नगरेको लगायत विभिन्न विषयमा कुलमानलाई सरकारले स्पष्टीकरण सोधेको थियो।

स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो। कुलमानको दोस्रो कार्यकाल आगामी साउनमा सकिँदै थियो।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत सबै विपक्षी दलहरूले कुलमान हटाउने निर्णयबारे प्रधानमन्त्रीले जवाफ दिन माग गरेका थिए।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन नचल्ने अडान राखेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरूद्ध भई सोमबारसम्मका लागि स्थगित भएको थियो।

प्रकाशित मिति: १८:२० बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्