विपक्षी दलको अवरोधका कारण दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
संघीय संसदको दुवै सदनको बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको भएको छ।काठमाडौं, चैत १३ : संघीय संसदको दुवै सदनको बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको भएको छ।
बुधबार बिहान ११ बजे सुरू भएको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदहरूले अवरोध गरे।
राष्ट्रिय सभा बैठक पनि सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए।
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारले गरेको निर्णयको विरोध गर्दै प्रतिपक्षमा रहेका दलहरूले त्यसको विरोध गर्ने निर्णय गरेरै बुधबारको संसदको दुवै सदनको बैठकमा विरोध जनाएका थिए।
विपक्षी दलहरूले कुलमानलाई बर्खास्त गर्ने निर्णयबारे प्रधानमन्त्रीले संसदमा जबाफ दिनुपर्ने माग राखेका थिए।
प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारलाई रूलिङ गर्ने प्रक्रियाका लागि पनि बैठक अघि बढाउने वातावरण बनाउन विपक्षी दलहरूलाई अनुरोध गरेका थिए।
त्यसका बाबजुद अवरोध जारी रहेपछि प्रतिनिधि सभा बैठक आधा घन्टा र राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
बैठक दोस्रो पटक सुरू भएपछि पनि अवरोध जारी राखेपछि दुवै सदनको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो।
प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजे र राष्ट्रिय सभा बैठक मध्याह्न १२ बजे बस्ने तय भएको छ।












