सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ : मन्त्री सिंह
उनले सरकार शहरीकरणको चुनौती सामना गर्न तयार रहेको भन्दै मन्त्रालयको ऐजेण्डा भनेकै आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु भएको बताए।-(21)-1742977555.jpg)
काठमाडौं, चैत १३ : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित शहरी शासन र विकास सम्बन्धी क्षेत्रीय गोल तालिका विषयक छलफल कार्यक्रममा उनले सरकार शहरीकरणको चुनौती सामना गर्न तयार रहेको भन्दै मन्त्रालयको ऐजेण्डा भनेकै आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु भएको बताए।
‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ। यद्यपि सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध छ,’ उनले भने, ‘मन्त्रालयको ऐजेण्डा भनेको अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु हो जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ भन्ने छ।’
मन्त्री सिंहले सरकार शहरीकरणको चुनौतीहरु सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै नेपालको राष्ट्रिय शहरी नीति २०२४ यसै तर्फ अगाडी बढेको बताए।
उनले सबै विचार र सामुहिक प्रयासले नयाँ योजना र दिगो समाधान ल्याउने भन्दै यसले नेपाललाई मात्र होईन् एसियालाई नै फाइदा दिने पनि बताए।












