Kathmandu Press

ब्राजिलमाथिको सानदार जितसँगै अर्जेन्टिना विश्वकपमा

बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलमाथि ४–१को सानदार जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो।
ब्राजिलमाथिको सानदार जितसँगै अर्जेन्टिना विश्वकपमा

काठमाडाैं, चैत १३ : अर्जेन्टिना सन् २०२६मा अमेरिका, क्यानडा र मेक्सिमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा छनोट भएको छ। बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलमाथि ४–१को सानदार जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो।

योसँगै अर्जेन्टिना विश्वकपमा छनोट हुने तेस्रो टिम बनेको छ। यसअघि एसियाबाट जापान र ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड विश्वकपमा छनोट भइसकेका थिए।

ब्राजिलमाथि सानदार जित दिलाउने क्रममा अर्जेन्टिनाका जुलियन अल्भारेज, इन्जो फर्नान्डेस, एलेक्सिस म्याक एलिस्टर र गुइलिआनो सिमोनीले गोल गरे। ब्राजिलका म्याथिस कुन्हाले गोल गरेका थिए।

खेलमा चौथो मिनेटमा अल्भारेजको गोलमा अर्जेनिटनाले अग्रता लियो। १२औं मिनेटमा फर्नान्डेसले टिमको अग्रता दोब्बर बनाए। २६औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तर, ३७औं मिनेटमा एलिस्टरले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले ३–१को अग्रता बनायो। त्यसपछि ७१औं मिनेटमा सिमोनीले गोल गरेपछि अर्जेन्टिना ४–१ले विजयी भयो।

जितपछि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले १४ खेलमा १० जित र १ बराबरीसहित ३१ अंक जोडेको छ। उसले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको इक्वेडरको २३ अंक छ। ब्राजिल भने २१ अंकसहित चौथो स्थानमा छ। 

प्रकाशित मिति: १२:४६ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्