एउटै मन्चबाट शेखर र शशांक कोइरालाले सुनाए गिरिजाप्रसादको योगदानको कथा
कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए।
काठमाडौं, चैत १२ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला र नेत डा. शेखर कोइरालाले एकै मन्चबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानका बारेमा चर्चा गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा कोइरालाद्वयले गिरिजाप्रसादसँगको संगत र उनको राजनीतिक योगदानबारे चर्चा गरेका हुन्।
कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए।
गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको प्रसंग सुनाएका हुन्।
सोही क्रममा डा.शेखरले गिरिजाप्रसाद कोइराला(सानुबुबा)सँग केटाकेटीहरु अत्यन्तै रमाउने गरेको सुनाए।
उनले सानुबुबा पाँच/छ दिनसम्म रिसाएका कार्यकर्ताको घरमा बसिदिने, देशभरी सोही किसिमको गतिविधि गर्ने गरेको बताए। उनले नेपाली राजनीतिमा गिरिजाबाबुको योगदानको छाप युगौंसम्म रहने बताए।
‘भुटानको पिपुल्स पार्टी पनि गिरिजाप्रसादको देन हो। उहाँ बीपीसँग चित्त दुखाएर मनहरी दाईलाई लिएर भुटान जानुभयो र संगठन निर्माण गर्न थालेका हुन्। उनको संगठनप्रति भुटान पनि प्रभावित छ,’उनले भने,‘उहाँ कुनै समय एन्टी कम्युनिष्ट भएर आउँनु भएको थियो। तर ०४७ सालको सरकारमा आएपछि चेन्ज भएका थिए।'
उनले अहिलेको परिवर्तन वा उदारिकरण जे भएको छ त्यसको मुल व्यक्ति गिरिजाप्रसाद रहेको बताए।
'माओवादी आन्दोलनको उतारचढावका क्रममा उहाँ कन्चनपुर जाँदा एयरपोर्टमा एकजना साथीको हत्या भएको घट्ना थाहा पाएपछि उहाँमा परिवर्तन आएको हो। सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउने प्रयास गर्नुभएको थियो। कांग्रेसको दुई टीमलाई पनि मिलाउनु भयो र शान्ति प्रक्रियासम्म पुग्नुभयो,' उनले भने।