Kathmandu Press

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङमा हिउँ चितुवाका गतिविधि समीक्षा गर्ने तथा जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, यो दुर्लव जीवको आहारा एवं आनीबानीको विज्ञहरुले विश्लेषण गर्ने जनाएको छ।
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ, चैत १२ : उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ।

मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडाआसपास क्षेत्रमा दुईवटा र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा अनुगमनका निम्ति जडान गरिएको छ।

Hardik ivf

तीन स्थानमा हिउँ चितुवाको वर्तमान स्थिति र अवस्था पत्ता लगाउने र कुन–कुन स्थानमा कतिको सङ्ख्यामा हिउँ चितुवा छन्भने एकीन गर्न कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको हो।

हिउँ चितुवाले बर्सेनि दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नेगरी क्यामेरा ट्यापिङ गरी अनुगमन गरेको हो।

एक्याप लोमान्थाङले हिउँ चितुवा अनुगमनका लागि गत हप्ता मुस्ताङको एक्याप लोमान्थाङ प्रमुख पौडेलले संरक्षित हिउँ चितुवा र अन्य वन्यजन्तुको संरक्षण गर्ने दायित्व एक्यापको भएकाले यसका लागि मानव र स्थानीयको पशुधनको रक्षाका लागि अध्ययन सुरु गरेको उल्लेख गरे।

पारस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने हिमालकी रानी हिउँ चितुवा यहाँको धार्मिक, सांस्कृतिक र जैविक सम्पत्ति भएको र स्थानीयले सदियौँदेखि अपनाउँदै आइरहेको पशुपालन व्यवसायलाई एकैसाथ अघि बढाउन दिगो रुपमा हिउँचितुवा व्यवस्थापनका नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बेला आएको छ भने।

यसअघि एक्यापले घरपझोङ गाउँपालिका र वारागुङ क्षेत्रका यारुझो भ्युटावर, नमुखलेक, वारागुङ मुक्तिक्षेत्रको साङ्ता, तिरी र कागबेनीका साथै उपल्लो मुस्ताङमा ३१ वटा क्यामेरा जडान हिउँ चितुवाको अनुगमन एवं सर्वेक्षण गरेको थियो।

मुस्ताङमा हिउँ चितुवाका गतिविधि समीक्षा गर्ने तथा जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, यो दुर्लव जीवको आहारा एवं आनीबानीको विज्ञहरुले विश्लेषण गर्ने जनाएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर वस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवा आहार नाउरलाई पछ्याउदै मानवबस्तीसम्म पुग्ने गरेका विज्ञहरुले बताएका छन्।

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, चैत १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्