Kathmandu Press

ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : सभापति देउवा

‘जेलभित्र जेल छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ। उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो,’ देउवाले भने, ‘राजनीतिक झगडा आफ्नो ठाउँमा छ । तर, उहाँ जेलमेट पनि भएको पनि हो। हाम्रो सम्बन्ध राम्रो हुँदै आयो । अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन। कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ।’
ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : सभापति देउवा

काठमाडौं, चैत १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो भएर अघि बढ्नेमा दुईमत नभएको बताएका छन्। 

सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुवा’ आत्मकथा लोकार्पण कार्यक्रममा मंगलबार कांग्रेस सभापति देउवाले उक्त भनाई राखेका हुन्। देउवाले ओलीसँग जेलदेखिकै सम्बन्ध रहेको बताउँदै अहिले त्यो सम्बन्ध झनै राम्रो हुँदै गएको पनि बताए। 

सभापति देउवाले एमाले अध्यक्ष ओली र कांग्रेस पार्टीबीच पनि सम्बन्ध समधुर भएको दाबी समेत गरे। 

‘जेलभित्र जेल छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ। उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो,’ देउवाले भने, ‘राजनीतिक झगडा आफ्नो ठाउँमा छ । तर, उहाँ जेलमेट पनि भएको पनि हो। हाम्रो सम्बन्ध राम्रो हुँदै आयो । अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन। कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ।’

देउवाले कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालासँग आफ्नो सम्बन्धमा धेरै उतारचढाव आएको पनि बताए। 

‘गिरिजाप्रसाद कोइराला र मेरो सम्बन्धमा धेरै उतारचढाव आए। उहाँले मलाई पार्टीबाट निकाल्नुभयो । मैले अर्को पार्टी खोलेँ । त्यसपछि फेरि एक भएर हामी हिँड्यौं,’ उनले भने।

देउवाले कोइरालालाई ललितपुरको नख्खु जेलमा पहिलोपटक चिनेको पनि सुनाए। उनले भने, ‘मैले उहाँलाई पहिला चिनेको चाहिँ नख्खु जेलमा हो। उहाँ जुझारु मान्छे हुनुहुन्थ्यो।’ 

गिरिजाप्रसाद कोइराला जस्तो कहिल्यै नथाक्ने व्यक्ति आफूले नदेखेको पनि देउवाले बताए। साथै आफू पार्टी सभापति हुनुमा कोइरालाकै भूमिका रहेको भनाई देउवाको थियो। 

‘मैले उहाँसँग धेरै काम गर्ने मौका पाएँ । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । मेचीदेखि महाकालीसम्म दौडिएको दौडिएकै गर्ने मान्छे । यस्तो नथाक्ने मान्छे मैले कहिल्यै देखेकै छैन,’ देउवाले भने।

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्