प्रधानमन्त्री ओली भन्छन्– सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरू सक्रिय छन्
प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरु बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए।-(47)-1742891162.jpg)
काठमाडौं, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन्।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए।
‘डिजिटल नेपाल कसरी प्रभावकारी तरिकाले बनाउन सकिन्छ । नेपाललाई प्राविधिक रुपमा विकास गरेर, सेवाहरुमा पनि प्रविधिको विकास गरेर कसरी धेरै भन्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने विषयमा पनि सुझाव दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौं। केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो। विरोधीहरु लाग्छन्।’
प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरु बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए।
‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनुहुन्छ, उनले भने, ‘म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहान्नँ। हामीले देशको विकास गर्नु छ। अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । त्यो हुन हामी तयार छैनौं।’
प्रधानमन्त्री ओलीले आफ्नो ध्यान देश विकासको लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको बताए।
पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनले बताए।












